सेमिफाइनल सम्भावना लगभग सकियो
एसीसी यू-१९ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको अफगानिस्तानविरूद्दकाे खेलमा ७३ रनकाे हार व्यहाेरेपछि नेपालकाे सेमिफाइनल सम्भावना लगभग सकिएकाे छ ।
दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदान उत्रेकाे अफगान टाेलीले २६१ बनायाे । अफगानिस्ताका लागि जम्सिद जद्रानले शतक बनाए । १५२ बलकाे सामना गरेका जद्रानले १०६ रन बनाए । नुमान शाहले ६० रन जाेडदै नेपालसामू बलियाे लक्ष्य प्रस्तुत गरे । जितका लागि २ सय ६२ रनको लक्ष्य सहित मैदान उत्रेकाे नेपाली टाेली ४०.१ ओभरमा १ सय ८८ रन बनाउँदा अलआउट हुँदै ७३ रनले पराजित भएको हो।
लगातारकाे दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। नेपालको सेमिफाइनल पुग्ने सम्भावना अब अंक गणितीय रुपमा मात्रै जीवित छ। पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ।

नेपालमाथिको जितले अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने जिवितै छ। अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। अफगानिस्तानले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग भिड्नेछ।
नेपालका लागि ओपनर अर्जुन कुमालले ९१ रनको योगदान दिएपनि नेपालको हार टार्न सकेनन्। १०८ बलको सामना गरेका अर्जुनले १३ चौका प्रहार गर्दा फरिदोनको बलमा नुमान शाहको हातबाट क्याच आउट भए। नेपालका लागि देव खनालले २४, गुल्सन झाले १७, दिपक बाेहराले १५ तथा दिपेश कँडेलले ११ रन जाेडे भने अन्य ब्याटरकाे हातबाट दाेहाेराे अंकमा रन बन्न सकेन ।
नेपाललाई कम स्कोरमा रोक्न अफगानिस्तानका नसिर खान एक्लैले तिन विकेट लिए। फरिदोन र मोहम्मद युनुसले समान २ विकेट लिए। खलिल अहमदले १ विकेट आफ्नो नाममा गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९. ओभरमा ९ विकेटको क्षतिमा २ सय ६१ रनको योगफल तयार पारेको थियो। बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कडेल र आकाश चन्दको नाममा समान १ विकेट रह्यो।
प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ०६:५५




