२०८३ असोज २४ गते शनिबार

बेपत्ता युवक खोजी गर्न पोखराको सेती नदीको बाँध आज खोलिने

बेपत्ता युवक खोजी गर्न पोखराको सेती नदीको बाँध आज खोलिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २८ गते बिहीबार ०७:४०

सेती नदीमा वहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्रहरीकाे अनुराेध ।

पोखरा

बेपत्ता एक युवकको खोजी गर्न आज पोखराको सेती नदीको बाँध खोलिने भएको छ । तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र २५ गतेदेखि सम्पर्कविहीन छन् । बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधी लिन गएकोबेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले मिश्रको खोजी गर्न पोखरा–१६, दीपमा बनेको ड्याम खोल्न लागिएको प्रहरीले जनाएको छ । ड्याम बिहीबार १२ बजेदेखि ४ बजेसम्म खोलिने प्रहरीको सूचनामा उल्लेख छ ।

उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई काम गर्न सूचनामा भनिएको छ । साथै, उक्त समयमा नदीको किनारमा नआउनु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति २०८० मंसिर २८ गते बिहीबार ०७:४०
हजुरको प्रतिक्रिया