पोखरा
१० वर्षे सशस्त्र जनयुद्धको उद्गमस्थल रोल्पा । रोल्पालीले जनयुद्धको रापताप कसरी सामना गरे होलान ? जनयुद्धले बसालेको खत कस्तो थियो ?
जनयुद्धको डोबलाई संगालेर साहित्यकार भानु बोखिमले उपन्यास ‘गोधूलि गीत’ बजारमा ल्याएका छन् । गोधुली गीतको शनिबार पोखरामा परिचर्चा गरिएको छ ।
¥यान्डम रिडर्स सोसाइटी पोखराले उपन्यास परिचर्चाको चाजोपाँजो मिलाएको हो ।
कवि एवम पत्रकार विकास रोका मगरले अवधारणापत्र प्रस्तुत गर्दै उपन्यासमाथि समिक्षा गरे । मगरले उपन्यास जनयुद्धसँगै माओवादीको एउटा सफेद इतिहासक्रम रहेको बताए । ‘कस्तो माओवादी कस्तो भयो ? गोधूलि गीत पढे पुग्छ । गोधूलि गीत माओवादी पतनको एउटा श्रृंखलाबद्ध कथा पनि हो’, उनको भनाइ थियो । उपन्यासमा आवश्यकताभन्दा लामा फिल्मिङ रहेको उनले बताए ।
उपन्यासमा पूर्वेली लवज हाबी भएको बताए । ‘उपन्यासमा उनीहरुलाई केवल पात्रका रुपमा मात्रै ल्याइएको हो कि ? पात्रमा न स्थानीय भाषा बाँचेको छ न त लवज नै ! रोल्पाली कथामा पूर्वेली लवज हाबी भएको देखिन्छ । लेखक पूर्वेली भएर हुन सक्छ । उपन्यासमा जुन आञ्चलिकताको अपेक्षा गरेको थिएँ, त्यो पाउन सकिनँ’, मगरको समिक्षा छ ।
२०६३ सालमा जनयुद्धको रापताप उत्कर्षमा पुगेको बेला रोल्पा पुगेपछि गोधूली साँझको बिजारोपण भएको लेखक बोखिमले सुनाए । रोल्पाबाट प्रभावित भएर लेखेको उनको भनाइ छ । ‘म अरु ठाउँ गएको भए त्यहाँ प्रभावित भएर लेख्थे होला । त्यतिबेला म रोल्पा पुग्दा सग्लो चिज केही पनि देखिदैनथ्यो’, उनले सम्झिए ।
प्रकाशित मिति २०८० मंसिर ३० गते शनिबार ११:४४




