२०८३ असोज २३ गते शुक्रबार

लेखनाथ महोत्सवमा नेपाली बस्तुको छुट्टै पेभिलियन

लेखनाथ महोत्सवमा नेपाली बस्तुको छुट्टै पेभिलियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ३ गते मंगलबार ०८:५१

उनले भने, ‘यसपालि नेपाली बस्तुको बजारीकरणमा छुट्टै पेभिलियनको व्यस्था गरेका छौं ।’

पोखरा

१९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लेखनाथ उद्योग वाणिज्य संघले पुस ५ देखि १६ गतेसम्म महोत्सव सञ्चालन गर्दैछ ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ । स्टेज निर्माणका काम सकिएको छ । स्टल निर्माणको काम धमाधम भइरहेको छ ।

३३४ स्टल रहने महोत्सवमा घरेलु, ग्रामिण तथा शैक्षिक प्रदर्शनी, कृषि, राष्ट्रिय उत्पादन, मेशनरी, गार्मेन्ट लगायतको प्रदर्शनीसँग खरिदबिक्रीको व्यवस्था मिलाएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले बताए । ९८ प्रतिशत स्टल बुकिङ भइसकेको छ ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले सघाउने उनको भनाई थियो । ‘पर्यटन प्रबद्र्धनसँगै औगद्योगि उत्पादनको बजारीकरणलाई बढवा दिने महोत्सवको उदेश्य छ’, उनले भने, ‘यसपालि नेपाली बस्तुको बजारीकरणमा छुट्टै पेभिलियनको व्यस्था गरेका छौं ।’

यो वर्ष महोत्सवको थप आकर्षणका रुपमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने थ्रिडी तस्बिर राखिने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोदकुमार श्रेष्ठले जानकारी दिए । प्रविधिको प्रयोग गर्दैै महोत्सवमा आउने दर्शकले इसेवामार्फत टिकट काँटन पाउने उनले बताए ।

महोत्सवमा ९० लाख रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । १० लाख रुपैयाँ बचत हुने आयोजकले जनाएको छ ।

बचत रकमले प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नती गरिनेछ । औद्यगिक क्षेत्र निर्माणका लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास, बेगनास तालको बराह मन्दिर संरक्षण, स्थानीय उद्यमीको उत्पादनलाई बजारीकरणमा सघाउन कोशेली घर निर्माणको योजना संघले बनाएको छ ।

२०५४ सालमा सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सव पछिल्लो समय गण्डकी प्रदेशमै सर्वाधिक दर्शकको रोजाइमा पर्ने महोत्सवमा दर्ज भएको छ ।

प्रकाशित मिति २०८० पुस ३ गते मंगलबार ०८:५१
हजुरको प्रतिक्रिया