पुर्वाधार तयारीको काम अन्तिम चरणमा
पाेखरा । राष्ट्रियस्तरको मुवाथाई च्याम्पियनसिप पाेखरामा हुने भएकाे छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा साे प्रतियाेगिता हुन लागेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘क्रिसमस डे’ को अवसर पारेर आयाेजित प्रतियाेगिता यहि पुष ९ गते हुनेछ ।
प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहनेछ । मार्सलआर्ट अन्तरगतको व्यवसायीक प्रतिष्पर्धामा सहभागि सबै खेलाडी व्यवसायिक खेलाडी भएकाे संयाेजक क्षेत्रीले बताए । क्षेत्रीले भने, ‘यहाँ सबै फाइटर छनोट भएर आएका छन् । हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार गर्नु हाम्रो मुख्य उद्देश्य हो । यसलाई लेकसाइडमा आयोजना गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’
प्रतियोगिता अन्तर्गत कुल १६ फाइट हुनेछन् । नक आउट सिस्टममा खेलाइने साे प्रतियाेगिताका सहभागिले प्रत्येक खेल वापत नगद प्राप्त गर्ने आयोजककाे भनाइ छ ।

प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए ।
प्रतियाेगितामा नेपाल राष्ट्रिय मुवाँथाई संघले प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ । दर्शकले निशुल्क रुपमा प्रतियोगिताको अवलोकन गर्न पाउनेछन् ।
पोखरा-६ लेकसाइडकाे बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम अन्तिम चरणमा पुगेकाे संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । प्रतियाेगिताकाे पब्लिक फाेरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रकाशित मिति २०८० पुस ५ गते बिहीबार ०६:३२




