२०८३ असोज २३ गते शुक्रबार

पोखराबाट लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा शुभारम्भ

पोखराबाट लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा शुभारम्भ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ७ गते शनिबार ०८:१९

लिबर्टीले १३२ रुपैयाँमै एक वर्षका लागि १ लाख रुपैयाँको बिमा योजना ल्याएको छ ।

पोखरा

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सेवा शुभारम्भ गरेको छ । पोखराको न्युरोडमा कार्यालय सञ्चालनमा ल्याएसँगै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सेव शुभारम्भ गरेको छ ।

शुक्रबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिबर्टीको औपचारिक उद्घाटन र लघु बिमा सेवाको शुभारम्भ गरे । उनले नेपालमा सबै वर्ग ठूलो रकम खर्चेर बिमा गर्न सक्ने अवस्थामा नरहेकाले माइक्रो इन्स्योरेन्स आवश्यक रहेको बताए ।

विपन्न र सिमान्तकृत वर्गका लागि माइक्रो इन्स्योरेन्स प्रभावकारी हुने उनको भनाइ छ । ठूला कम्पनीलाई माइक्रो बिमा गर्न आग्रह गरेपनि अटेरी गरेको उनले बताए । ‘गाउँमा गएर सेवा दिनुसन भन्दा उनीहरु आज पनि जान सकेको अवस्था छैन । सबैभन्दा बढी बिमाको आवश्यकता कस्लाई पर्छ भन्दा जोसँग केही छैन, जो गरिब छ । सबैभन्दा बढी विपत्तिको मार पर्ने गरिबलाई हो’, उनले भने ।

धनाढ्य वर्गमा बिमा गर्नुपर्छ भन्ने सचेतना भएपनि आवश्यकता गरिब विपन्न वर्गलाई भएको अध्यक्ष सिलवालले बताए ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले व्यवसायिकतासँगै समाजलाई उत्थान गर्ने उदेश्य राखेको बताए । ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो । कम्पनीको साथसाथ समाज पनि अगाडि बढाउने संकल्प गरेका छौं’, उनको दाबी छ ।

लिबर्टीले १३२ रुपैयाँमै एक वर्षका लागि १ लाख रुपैयाँको बिमा योजना ल्याएको छ । गतवर्ष अनुमति पाएको कम्पनिको १ अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले जानकारी दिए । ७५ करोड रुपैयाँको चुक्ता पुँजी रहनेछ । ५२ करोड ५० लाख रुपैयाँ जारी पुँजी र २२ करोड ५० लाख रुपैयाँको आइपिओ जारी गर्ने यादवले बताए ।

लिबर्टी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको पाँचौ माइक्रो लाइफ इन्स्योरेन्स हो ।

प्रकाशित मिति २०८० पुस ७ गते शनिबार ०८:१९
हजुरको प्रतिक्रिया