२०८३ असोज २४ गते शनिबार

दिल्ली एफसी र पारोसहित १२ टिम सहभागी हुने

दिल्ली एफसी र पारोसहित १२ टिम सहभागी हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २६ गते बिहीबार ११:३३

पोखरा आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा २ विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले यस पटकको संस्करणमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब सहभागी हुने बिहीबार पत्रकार सम्मेलमार्फत जानकारी...

पोखरा

आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा २ विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् ।

आयोजक सहारा क्लबले यस पटकको संस्करणमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब सहभागी हुने बिहीबार पत्रकार सम्मेलमार्फत जानकारी दिएको हो ।

२३ औं आहारारा पोखरा गोल्डकप प्रतियोगितामा सहभागी हुन लागेको दिल्ली फुटबल क्लब भारतको प्रतिष्ठित आई लिग खेलिरहेको टिम हो ।

आई लिगमा दिल्ली फुटबल क्लब हाल सातौं ¥यांकमा छ ।

त्यस्तै, भुटानबाट आउन लागेको पारो फुटबल क्लब भुटान प्रिमियर लिग उपाधि जितिसकेको टिम हो ।

प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

आयोजक सहारा क्लबलका अध्यक्ष केशव बरालले यसपटकको प्रतियोगितामा भारत र भुटानका उत्कृष्ट २ टिम सहभागी हुन लागेकोले प्रतियोगितामा अझै रोमाञ्चक बन्ने विश्वास व्यक्त गरे ।

‘यसपटकको प्रतियोगिताको मुख्य आकर्षक नै यी २ टिम हुन् । आआफ्नो देशको राष्ट्रिय टिममा आफ्नो उत्कृष्ट खेल कौशल देखाएका टिमलाई हामीले सहभागी गराउँदैछौं’, बरालले भने, ‘यसले प्रतियोगिताको उचाइ अझै बढाउने विश्वास लिएका छौं ।’

प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङका अनुसार २३ औं आहारारा पोखरा गोल्डकपमा २ विदेशी टिमसहित ८ वटा ए डिभिजन क्लब, एउटा मोफसल र आयोजक गरी १२ टिम सहभागी हुने जानकारी दिए ।

यसपटकको प्रतियोगितामा २ विदेशी टिमसहित नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, राइजिङ स्टार फुटबल क्लब नवलपुर, थ्रीस्टार र आयोजक सहारा क्लब सहभागी हुने गुरुङले बताए ।

अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

आयोजक सहाराले गत संस्करणदेखि प्रतियोगिताको नाम परिवर्तन गरेको हो ।

लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगितालाई २२ औं संस्करणदेखि ‘आहारारा पोखरा गोल्डकप’मा परिवर्तन गरेको थियो ।

आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण ०५८ सालमा क्याराभान कपको नामबाट भएको थियो ।

आयोजक सहाराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट १ करोड ८५ लाख रुपैयाँ आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको आँकलन छ ।

बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने अध्यक्ष बरालले जानकारी दिए ।

एकेडेमीमा हाल चौंथो ब्याचमा १४ जना बालक आश्रित छन् ।

प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ११:३३
हजुरको प्रतिक्रिया