२०८३ असोज २३ गते शुक्रबार

मित्रमिलन सहकारी प्रकरणः लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ

मित्रमिलन सहकारी प्रकरणः लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २६ गते बिहीबार ०६:१९

उनलाई पक्राउ गरेर बिहिबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पोखरा
बचतकर्ताको रकम हिनामिना गर्ने पोखराको मित्रमिलन सहकारी प्रकरणमा लेखा समिति संयोजक पक्राउ परेका छन् ।

बुधबार लेखा समिति संयोजक ५७ वर्षीय सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

सहकारीको ठगी प्रकरणमा जोडिएका अधिकारीलाई पोखरा महानगरपालिका–१३ कसेरीबाट पक्राउ गरेको उनले जानकारी दिए । उनलाई पक्राउ गरेर बिहिबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

‘अदातलमा बयान र थुनछेक आदेश नसकिएकाले प्रहरी हिरासतमा राखिएको छ’, उनले भने ।

पोखराको नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुस १७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी पनि पुर्पक्षका लागि थुनामा छन् । कात्तिक ४ पक्राउ परेका अध्यक्ष पौडेल र कार्यकारी अधिकृत अधिकारीको बयानको आधारमा कुश्मका प्रमुख प्रसाशकीय अधिकृत पराजुली तानिएका हुन् ।

मित्रमिलन सहकारी प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा पत्रकार अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायतलाई पक्राउ ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हालसम्म ७ जना पक्राउ परेका छन् । २५ जना अझै फरार छन् ।

प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ०६:१९

हजुरको प्रतिक्रिया