प्रतियाेगिता पब्लिक फाेरके टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिने
पुन समाज नेपालको आयोजनामा माघ १५ देखि १९ गतेसम्म पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएकाे छ ।
पुन समाज नेपालको स्थापन दिवसको अवसरमा प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताकाे आयोजना गरिएकाे समाजका महासचिव खिमन शेरपुजा पुनले बताए ।
‘प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा महिला/पुरुष र प्रौढ गरी फरक ३ विधाकाे भलिबल प्रतियोगिता आयोजना गरेका छाैं । पहिलाे पटक आयोजना गरिएकाे प्रतियाेगिताले देशभरका पुन समुदाय एक ठाउँ उपस्थित हुने वातावरण बनाेस् भन्ने हाम्राे चाहाना हाे,’ खिमनले भने ।
प्रतियाेगितामा खुल्ला क्लबस्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ८ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।
खुल्ला क्लबस्तरीय महिला प्रतियोगिताको विजेताले ६६ हजार ६ सय ६६ उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ६ हजार रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ ।
यस्तै ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पुन समाज नेपालका महासचिव पुनले खुल्ला क्लबस्तरीय महिला÷पुरुषतर्फ कुनै पनि टिममा प्रदेश र राष्ट्रिय टिमका कुनै पनि खेलाडी समावेश गर्न नपाइने बताए ।
‘खुल्ला क्लबस्तरीय महिला/पुरुष भलिबलको तयारी तीव्र पारेका छौं, प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म रामघाटमा सञ्चालन हुनेछ’, पुनले भने, ‘महिला/पुरुषतर्फ नै प्रदेश र राष्ट्रिय तर्फका खेलाडी समावेश गर्न पाइने छैन ।’
खेलाडी उत्पादनलाई मध्यनजर गर्दै प्रदेश र राष्ट्रिय टिमका सदस्यहरु समावेश गर्न नपाइने नियम राखिएको उनले बताए ।
प्रतियोगिता पुन समाज नेपाल पोखराको रामघाटमा सञ्चालन हुनेछ ।
पुन समाज नेपालले २०६३ साल माघ १५ लाई स्थापना दिवसको अवसरमा मनाउँदै आएको महासचिव पुनले बताए ।
५ दिनसम्म चल्ने प्रतियाेगिताकाे पब्लिक फाेरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रकाशित मिति २०८० माघ १० गते बुधबार ०५:००




