२०८३ असोज २४ गते शनिबार

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे तयारी तीव्र

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे तयारी तीव्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ११ गते बिहीबार १२:४३

१८ औँ संस्करणकाे म्याराथन 'पब्लिक फाेरके टेलिभिजन'ले प्रत्यक्ष प्रशारण गर्नेछ । 

देश तथा विदेशमा विभिन्न उपसमितिहरू गठन

पाेखरा

भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ५ गते हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे तयारी तीव्र पारेकाे छ ।

म्याराथनलाई सफलता गराउन आयोजक भूतपूर्व खेलाडी मञ्चले देश तथा विदेशमा विभिन्न उपसमितिहरू गठन गरेकाे छ ।

प्रतियाेगिताका लागि नेपालमा २३ वटा उपसमिति गठन गरिएकाे छ भने बेलायत, अमेरिका, अस्ट्रेलिया, हङकङ र सर्भियामा समेत  ५ वटा अन्तर्राष्ट्रिय समिति गठन गरिएकाे मञ्चले जनाएकाे छ ।

यसैबीच मञ्चले १८ औँ संस्करणकाे म्याराथनमा म्याराथनकाे रूट परिवर्तन हुने जनाएकाे छ ।

मञ्चका अध्यक्ष हरि पराजुलीका अनुसार यसपटककाे म्याराथन पाेखरा रंगशालादेखि सुरू भएर पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौरसाइटमा पुगि समापन हुनेछ ।

‘विगतमा धावकहरूले शहरका मुख्य भाग धेरै दाैडिनुपर्थ्याे भने नयाँ रूट अनुसार यसपटक महानगरका ग्रामीण वडाहरूसमेत समावेश भएका छन्’, पराजुलीले भने ।

यसपटक आयोजित म्याराथनका सबै विधाका सहभागीहरूलाई अनिवार्य चिप्सको प्रयोग गर्ने आयोजकले उल्लेख गरेकाे छ ।

चिप्सकाे प्रयाेगले म्याराथनलाई प्रविधिमैत्री बनाउनुका साथै खेलाडीकाे ट्रयाक रेकर्डमा सहयाेग पुग्ने आयोजककाे विश्वास छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे याे संस्करणमा ४२ किमी खुल्ला म्याराथन, २१ किमीकाे हाफ म्याराथन, १० किमी दाैड प्रतियाेगिता, विद्यार्थी दाैड प्रतियाेगिता, ह्विल चियर तथा दृष्टिविहीन दाैड प्रतियाेगितासहित ‘रन फर फन’ लगायतका विधाहरू समावेश गरिएका छन् ।

याे संस्करणका विजेताले कुल १६ लाख ५० हजार रूपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र  पुरस्कार प्राप्त गर्ने मञ्चका पूर्व अध्यक्ष तेज गुरूङले जानकारी दिए ।

गुरूङका अनुसार गण्डकी प्रदेशभित्रबाट प्रथम हुने धावकलाई समेत पुरस्कारकाे व्यवस्था गरिएकाे छ भने विधागत हिसाबकाे निर्धारित दाैड पूरा गर्ने अधिकांशले यसपटक प्रमाणपत्र प्राप्त गर्नेछन ।

सफल दूधको मुख्य प्रायोजन रहेको प्रतियाेगितामा विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् । १८ औं संस्करणकाे म्याराथन ‘पब्लिक फाेरके टेलिभिजन’ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

देशकै ठूलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।

प्रकाशित मिति २०८० माघ ११ गते बिहीबार १२:४३
हजुरको प्रतिक्रिया