पोखरा
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा २२५ मतदाताले मतदान गरेका छन् । गण्डकीमा कूल २३० मतदाता रहेका छन् ।
स्थानीय तहतर्फ ३ जनाले मतदान गर्न बाँकी रहेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । ‘२ जना प्रदेशभा सदस्यले मतदान गर्न बाँकी छ’, उनले भने ।
गण्डकीमा अन्य, अल्पसंख्यक र महिला क्लष्टरमा राष्ट्रियसभा सदस्य निर्वाचन भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा यहाँ चार दलका ८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोरखाका किरणबाबु श्रेष्ठ अन्य क्लष्टर, तनहुँका पदमबहादुर परियारले अपांगता\अल्पसंख्यक र नेकपा माओवादी केन्द्रकबाट पर्वतकी मनरुपा शर्मा (विमला) महिलातर्फको चुनावी मैदानमा उत्रिएका हुन् ।
नेकपा एमालले अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
गण्डकीमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाबाट १ सय ७० जना मतदाता छन् । स्थानीय तहका प्रमुख र उपप्रखुको मतभार ३ हजार २३० हुन आउँछ ।
प्रदेश सभातर्फ ६० जना सदस्य छन् । जसको मतभार ३ हजार १८० मतभार हुन्छ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी गण्डकीमा कुल ६ हजार ४१० कुल मतभार छ ।
गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन् । पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति २०८० माघ ११ गते बिहीबार १२:४०




