घटनामा संलग्नकाे पहिचान भइसक्याे, खाेजी गर्दैछाैं: प्रहरी
बेनी
म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।
बिहीबार साँझ बेनी नगरपालिका–८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको मृत्यु भएको हो ।
धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए ।
घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए ।
मृतकका साथी बेनी नगरपालिका–६ अथुंगेका अनुराग शाहीको हातमा चोट लागेको छ ।
सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो ।
‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजीमा लागेका छौं । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौ’, डिएसपी कुवँरले भने ।
मृतक युवासहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०८:१६




