अल्पसंख्यक कुमाल जातिका युवामा जाग्दैछ मातृभाषा सिक्ने हुटहुटी
दुलेगौंडा
तनहुँ शुक्लागण्डकीकी हिरामाया कुमाललाई चिन्ता थियो, ‘हामीले नै हाम्रो भाषा जानेनौं र जोगाएनौं भने हाम्रो सभ्यता र संस्कृति नै कमजोर हुने छ ।’ उनी आफैंले पनि आफ्नो मातृभाषा राम्रोसँग बोल्न नजान्दा मन खिन्न थियो ।
उनको लागि पुल बनिदियो, आफ्नै जाति र भाषा, संस्कृतिको सम्वद्र्धनमा जुटिरहेको कुमाल समाज नेपाल । कुमाल समाज शुक्लागण्डकी नगर समितिले १० दिने भाषा कक्षा नै चलाउने भएपछि हिरामाया उत्साहित बनिन् र भाग लिइन् ।
हिरामायाले १० दिनसम्म कुमाल जातिबारे धेरै जानकारीमात्रै पाइनन्, तालिम सकिएर लिइएको परीक्षामा पहिलो नै हुन सफल भइन् । अल्पसंख्यक कुमाल जातिको मातृभाषा अब उनले खरर बोल्नेमात्रै होइन, संरक्षणमै योगदान पनि गर्नेछिन् ।
हिरामाया भन्छिन्, ‘आउने दिनमा छोराछोरीसँग हाम्रै भाषामा बोल्ने बानी बसाल्ने छु । छोराछोरी पनि त यो भाषा जान्नेछन्, हाम्रो भाषा र संस्कृतिको महत्व जान्ने छन् ।’
हिरामायाजस्तै आफ्नै भाषा सिक्ने हुटहुटी भएका रेशम कुमाल पनि अहिले खुसी छन् । जो तालिममा दोस्रोसमेत भए । भाषा सिक्ने चाहानाकै कारण सीता कुमाल तेस्रो र कुशमाया गुरुङ चौथो भइन् ।
नयाँ पुस्तामा मातृभाषाबारे जागरण ल्याउन भाषा कक्षा सञ्चालन गरिएको कुमाल समाज नेपाल, शुक्लागण्डकी नगर समितिका अध्यक्ष कुलबहादुर कुमालले जानकारी दिए ।
१० दिनसम्म चलेको भाषा कक्षामा ६० जना सहभागी भएको प्रशिक्षक उषा कुमालले जानकारी दिइन् ।
कुमाल जातिको आफ्नै भाषा, भेषभूषा र संस्कृति भए पनि प्रयोगमा नआउँदा लोप हुने अवस्थामा पुगेको भन्दै प्रशिक्षक तिलकबहादुर कुमालले मौलिकता जोगाउन प्रशिक्षण गरिएको बताए ।
तालिममा सहभागी युवा रुपा कुमालले यसअघि कुमाल जातिको पनि आफ्नै मौलिक भाषा छ भन्नेबारे थाहासम्म नभएको सुनाइन् । मातृभाषा सिक्न र बोल्ने जान्ने हुन पाउँदा उनी खुसीले दंग छिन् ।
जनगणना २०७८ अनुसार कुमाल अल्पसङ्ख्यक जातिको सूचीमा छ । शुक्लागण्डकी नगरपालिकामा कुमाल जातिको जनसङ्ख्या ३ हजार ७०० छ । कुमाल समाजका अनुसार देशभर रहेका झण्डै १ लाख ३० हजार कुमाल जनसङ्ख्यामध्ये करिब १२ प्रतिशतले मात्रै कुमाल भाषा बोल्न जान्दछन् ।
शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य खिमबहादुर कुमालले नगरपालिकाभित्र अल्पसंख्यक जातिका भाषा, कला, संस्कृतिको जर्गेनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित मिति २०८० माघ १३ गते शनिबार ०६:३५




