२०८३ साउन २१ गते बिहीबार

पोखरामा सामाजिक सञ्जालमा प्रश्न उठाएकै आधारमा कार्यालयमा उपस्थिति हुन वडाध्यक्षको पत्र

पोखरामा सामाजिक सञ्जालमा प्रश्न उठाएकै आधारमा कार्यालयमा उपस्थिति हुन वडाध्यक्षको पत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १६ गते मंगलबार १२:०३

भण्डारीले लेखेका थिए, ‘...हेक्का रहोस् भोलिदेखि वडाध्यक्षज्युहरु अनि वडासदस्यहरु हिँड्दा आफ्नो सवारी साधनको ख्याल राख्नुहोला ।’

पोखरा

सामाजिक सञ्जाल फेसबुकमा बाटोको मर्मत नहुँदा दुर्घटना बढेको भन्दै प्रश्न उठाउने एकजनालाई पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले वडा कार्यालयमा उपस्थित हुन पत्र काटेका छन् ।

वडाध्यक्ष तिमिल्सिनाले माघ ११ पठाएको पत्रमा पोखरा सोही वडाका आश्विन भण्डारीलाई ३ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन पत्र पठाइएको हो ।

माघ १० गते सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप सोही वडाको ग्यार्जतीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

सोही प्रसंगमा भण्डारीले सामाजिक सञ्जालमा वडाका जनप्रनिनिधिमाथि प्रश्न उठाएका थिए ।

‘जनप्रतिनिधिज्युहरुले सधैं नै बाटो प्रयोग गर्ने गर्नुहुन्छ । तर, बाटो समयसमयमा मर्मतका लागि विनियोजन हुने बजेटको सदुपयोग के कसरी भएको छ वा छैन भनेर अवलोकन गर्नु जनप्रतिनिधिको कार्यसीमाभित्र पर्ने कुरा हो र उहाँहरुको अधिकार पनि हो’, भण्डारीले लेखेका थिए, ‘…हेक्का रहोस् भोलिदेखि वडाध्यक्षज्युहरु अनि वडासदस्यहरु हिँड्दा आफ्नो सवारी साधनको ख्याल राख्नुहोला ।’

सोही स्टाटसमा माथि आपत्ति जनाउँदै वडाले पत्र काटेको हो । पत्रमा भनिएको छ, ‘… सामाजिक सञ्जालबाट धम्कीपूर्ण भाषा प्रयोग गरी आवतजावत गर्दा आफ्नो र सवारी साधनको सुरक्षा आफैं गर्नु भनी लेख्नुभएको हुँदा यस विषयमा किन र कसलाई, केका लागि भनी बुझ्नुपर्ने भएकाले आजको मितिले ३ दिनभित्र उपस्थित हुन अनुरोध गरिन्छ ।’

वडाध्यक्ष तिमिल्सिनाले भण्डारीसँग छलफल भइसकेको र यो विषयमा नबोल्ने बताए ।

‘जे विषयमा बोलाइएको यो त्यही विषयमा छलफल भइसक्यो । अहिले फोनमा नबोलौं,’ उनले भने ।

 

प्रकाशित मिति २०८० माघ १६ गते मंगलबार १२:०३
हजुरको प्रतिक्रिया