पोखरा ।
नेपालले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।
त्यस्तै लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।
फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।
आईसीसी डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्न नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा आउदैछन् ।
लिग-टू अन्तर्गतको पहिलो सिरिज सकेर सोही टिमसँग टी–२० सिरिज खेल्ने व्यवस्था क्यानले मिलाएको हो ।
प्रकाशित मिति २०८० माघ २७ गते शनिबार ०९:४३