डेब्यू खेलमा हेमन्त धामीकाे तीन विकेट
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।
उसका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाए ।
त्यस्तै, श्रीमन्था विजयरत्नले २२, श्रेयस मोभाले २९ र निखिल दत्तले ४५ रनको योगदान दिए ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितिसकेको नेपालले सिरिजमा क्लिस्विप गर्ने लक्ष्यसहित केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ ।
टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला बलिङ रोज्दै चार परिवर्तन गरेका हुन् ।
नेपालको प्लेइङ–११ मा चार परिवर्तन
नेपालले आजको खेलमा दोस्रो खेल खेलेका आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ । हेमन्त धामी, ललित नारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल नेपालको प्लेइङ–११ मा फर्किएका छन् ।
हेमन्तलाई राजु बस्न्यातले ओडीआई करिअरको ४१औं क्याप दिएका हुन् । सोमपाल कामीलाई विश्राम दिँदै हेमन्तलाई डेब्यु दिएको हो । आसिफ शेखलाई विश्राम दिंदा कुशल भुर्तेल टोलीमा फर्किएका छन् । ओपनिङ कुशल भुर्तेल र अनिल कुमार शाहले गर्नेछन् । त्यसै सूर्य तामाङको स्थानमा ललित राजवंशी टोलीमा फर्किएका छन् । रिजन ढकालको स्थानमा आरिफ शेख फर्किएका हुन् ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।
बेन्च : रिजन ढकाल, सोमपाल कामी, सूर्य तामाङ र आसिफ शेख ।
प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ०१:२१




