२०८३ असोज २४ गते शनिबार

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने सीडीओको प्रतिवद्धता

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने सीडीओको प्रतिवद्धता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २९ गते सोमबार ०२:१३

म्याराथनका दिन प्रहरी परिचालनमा कमी भएमा प्रदेशबाट समेत मगाउने उनले सुनाए ।

पोखरा

१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम भएको छ ।

नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुरक्षा निकायले सडक सुरक्षा नभई धावकको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रशासनको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सफल म्याराथनलाई सफल बनाउनेमा प्रमुख जिल्ला अधिकारी घिमिरेले विश्वास दिलाए ।

आयोजक मञ्चलाई एपिएफ र नेपाल पुलिसलाई म्याराथनको रुटको नक्सा प्रदान गर्न अनुरोध गर्दै पुलिस र एपिएफलाई आ–आफ्नो योजना अनुसार सघाउन समेत आग्रह गरे ।

‘हामीले सेक्युरिटी दिने होइन बरु सेफ्टी दिने हो । यहाँ सेक्युरिटी चाहिएको होइन्, धावकहरुका लागि रोड सेफ्टी चाहिएको छ त्यसका लागि हामी सहयोग गर्छौ’, उनले भने, ‘प्रशासनले जे–जे गर्नुपर्ने हो गर्छौ । बरु तपाईँहरुले स्टार्ट पोइन्टमा भन्दा इन्डिङ पोइन्टतर्फ एम्बुलेन्सहरु बढी राख्नुस् ।’

म्याराथनका दिन प्रहरी परिचालनमा कमी भएमा प्रदेशबाट समेत मगाउने उनले सुनाए ।

उनका अनुसार म्याराथनको १० किमीमा आफूसहित कार्यालयका कर्मचारी र अन्य सरकारी निकायका लागि समेत पत्राचार गरिनेछ । साथै प्रहरीले म्याराथनमा खटिएका स्वयम् सेवकलाई चिन्ने र उनीहरुसँगको समन्वय कसरी गर्ने भन्ने कुराको जानकारी दिनसमेत आग्रह गरे ।

म्याराथनमा जिल्ला अधिकारी सहित कास्की प्रहरी प्रमुख मोहनकुमार थापासमेत प्रतिस्पर्धा गर्ने भएका छन् ।

घिमिरेले उक्त दिन ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले तत्कालै यातायातसँग आबद्ध संगठनसँग छलफल गरी सहज गर्न अनुरोध गरे ।

प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ०२:१३
हजुरको प्रतिक्रिया