पोखरा
माओत्से गुरुङ निर्देशित फिल्म दयारानीको ‘लाइदेऊ छपक्कै’ गीत सार्वजनिक भएको छ ।
शुक्रबारदेखि हलमा फिल्म रिलिज भएको फिल्मको गीत ५ दिनपछि गीत सार्वजनिक भएको हो ।
गीतमा गायक विनोद बानिया र मेलिना राईको आवाज भरेका छन् ।
गायक बानियाले नै संगीत भरेको यो गीतलाई गीतकार मन क्षेत्रीले लेखेका हुन् ।
फिल्मको छिटो रिलिज डेट तोकिँदा प्रचारप्रसारमा बढी समय दिन नभ्याइएको र त्यसैले गर्दा पनि गीत ढिलो रिलिज गर्नुपरेको निर्देशक गुरुङले बताए ।
‘हामीसँग खास प्रचारप्रसार गर्ने समय पनि भएन । फिल्मको टिजर, ट्रेलर पनि एकदमै हतारमा गर्नुप¥यो । पोखरा लगत्तै काठमाडौंमा प्रिमियर ग¥यौं । त्यसपछि फिल्म हलमा आइहाल्यो’, गुरुङले भने, ‘एकमाथि अर्को कन्टेन्ट थपिँदा गीत रिलिज गर्ने समय नै मिलेको थिएन ।’
गीत रिलिज ढिलो गरे पनि हलमा पुगेका दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए ।
‘हलमा गीत बज्दा धेरैले हुटिङ गर्नुभएको छ, सिट्ठी बजाउनुभएको छ’, उनले भने, ‘सबैले रुचाएको गीत ढिलो रिलिज गर्दा फिल्मको प्रचार हुने पनि देखियो ।’
निर्देशक गुरुङले पाँचौं दिनसम्म दयारानीले राम्रो दर्शकको साथ पाइरहेको बताए ।
उनले काठमाडौंभन्दा पनि बाहिरी जिल्लामा दर्शक ओइरिएको बताए ।
उनले भने, ‘भ्यालीमा जुन किसिमको दर्शक अपेक्षा गरेका थियौं । त्यो भएन । तर, जति पनि आउनुभएको छ, राम्रै प्रतिक्रिया छ ।’
गायक तथा संगीतकार विनोद बानियाले थुप्रै गीत गाए पनि फिल्ममा पहिलो पटक गाउन पाउँदा खुसी लागेको बताए ।
‘यो गीत मेरो व्यक्तिगत नजरमा पनि एकदमै राम्रो बनेको छ । यही गीतबाट माओत्से दाइले निर्देशनमा पाइला राख्नुभएको छ’, उनले भने, ‘त्यही फिल्ममा मैले पनि पहिलोपटक काम गर्न पाउँदा खुसी लागेको छ ।’
करिब २ दर्जन बढी गीत रेकर्ड गरिसकेका गीतकार मन क्षेत्री दयारानी अघि ‘तिमी नभए’, ‘टिस्टापारिको साइनो’लगायतका फिल्ममा गीत लेखेका छन् ।
प्रमोद खरेलको स्वरमा गत वर्ष ‘गरिखान देऊ’ गीत सार्वजनिक भएको थियो ।
उक्त गीत हिमालय टेलिभिजनबाट प्रसारण हुने भ्वाइस अफ नेपालको फाइनलमा सार्वजनिक गरिएको थियो ।
लिंकः




