२०८३ असोज २३ गते शुक्रबार

पोखरामा सुरु भयो लिटरेचर फेस्टिबल

पोखरामा सुरु भयो लिटरेचर फेस्टिबल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ३ गते बिहीबार ०८:००

‘अर्थतन्त्र: तंग्रिन्छ की लड्छ’ देखि ‘विद्यार्थीका कविताका कुरा’ मा अन्तरसंवाद हुनेछ ।

पोखरा

पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ । लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा फेस्टिबल सुरु भएको हो ।

बिहीबार दिउँसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिबलको उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले साहित्यिक महोत्सवले पोखरामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको बताए ।

‘अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा बिकास भईरहेको यो साहित्यिक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गरेका छ’, उनले भने, ‘सांस्कृतिक गतिविधिले हरेक नागरिकमा सदभाव सिर्जना गर्दछ । त्यसैको प्रभाव पर्यटकममा पर्न जान्छ र पोखरा अन्तर्राष्ट्रियस्तरमा अझ परिचित हुन्छ ।’

राजनीति र साहित्यको अन्तिम ध्येय समृद्ध समाजको निर्माण भएको उनको भनाइ थियो । उनले भने, ‘साहित्यले समृद्ध समाजको परिकल्पना गर्छ । हामी राजनीतिकर्मी त्यो परिकल्पनालाई सार्थक बनाउन लाग्छौं ।’

मुलुकको राजनीतिक परिवर्तनका लागि साहित्यले निकै सघाउ पु¥याएको मुख्यमन्त्री पाण्डेको ठम्याइ छ । राणा शासनकालमा पनि अभिव्यक्तिको माध्यम साहित्य लेखन भएको उनले बताए ।

उनले थपे, ‘अझै भनौँ साहित्यिक सिर्जनासँग शासकहरु तर्सन्थे । सुब्बा कृष्णलालको ‘मकैको खेती’ पुस्तक त्यसैको उदाहरण हो । पञ्चायतकालमा पनि घुमाइ फिराई साहित्यक रचनामार्फत् शासक र शासनको विरोध भइरह्यो । अहिले हामी राजनीतिकर्मी साहित्यक र पत्रकारिता जगतबाट सत्य र बस्तुनिष्ठ आलोचनात्मक प्रतिक्रिया चाहान्छौं, जुन हामीलाई मार्गदर्शन बनोस् ।’

गण्डकी प्रदेश सरकार पोखरालाई पर्यटकीय राजधानी घोषणाको अन्तिम तयारीमा रहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । प्रदेश राजधानीका लागि पूर्वाधारसहितका पक्षको पहिचान भएको उनको भनाइ थियो । प्रदेशलाई पर्यटको राजधानी बनाउन साँस्कृति र साहित्यिक गतिविधि पनि पर्ने उनले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले साहित्यको उत्थानमा सरकारले लगानी बढाउनुपर्ने बताए । साहित्यलाई समाजलाई सचेत बनाउन भुमिका खेल्ने उनको भनाइ थियो ।

आयोजक संस्था बुकवर्म फाउण्डेसनका कार्यकारी निर्देशक निरज भारीले नेपाल लिटरेचर फेस्टिबल पोखराको ब्राण्ड बनेको उल्लेख गरे । ‘पोखरामा सबैभन्दा धेरै सोधिने प्रश्न फेस्टिबल कहिले हुन्छ ? फेस्टिबललाई लिएर हरेक वर्ष थुप्रै अभाव व्यहोरिरहेका छौं । तर, पनि निरन्तर दिने कोशिष गरिरहेका छौं’, उनको भनाइ थियो । पोखरामा निरन्तर फेस्टिबल सञ्चालन गर्ने भारीको उद्घोष छ ।

नेपालको संविधान र सुशासन विषयमा केन्द्रित रहेर पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठले विद्वत्व प्रवचन दिएका छन् । श्रेष्ठले संविधान साहित्यमा जसरी फिँजिनुपर्नेमा नफिँजिएको बताए ।

‘यो संविधान जुन आएको छ, तपाईंहरू त्यसबारेमा कति लेख लेखेको देख्नुहुन्छ ? अपवादमा हेर्नुभयो भने, किताबहरू कति लेखिएको भेट्नुहुन्छ ? नेपालका विभिन्न भाषामा कति रूपान्तरण भएको देख्नुहुन्छ ?’, पूर्वप्रधानन्याधिश श्रेष्ठले भने, ‘र सम्प्रेषणकै कुरा गर्ने हो भने, जनतामा यसको ज्ञान पर्याप्त मात्रामा पुगेको छैन, हाम्रो संविधान घरदैलोमा पुगेकै छैन। न्यायाधीश र वकिलको घरमा मात्र संविधान पुगेर त्यो जनताको बन्दैन। त्यसकारण संविधान साहित्यमा जसरी फिँजिनुपथ्र्यो, फिँजिएको छैन। यो एउटा पक्ष हो। यसलाई पनि हामीले ध्यान दिनुपर्छ ।’

फेस्टिबलको अवसरमा पारेर दुर्गा बराल वात्स्यायनको ‘वात्स्यायनका एण्ड बाब्र्स’ पुस्तकको विमोचन भएको छ । कार्टुनहरुको संग्रह रहेको पुस्तको पोखरा महानगरपालिकाका मेयर धनराज आचर्यले विमोचन गरे । बिहीबारदेखि नै वात्स्यायन एण्ड बाब्र्स कार्टुन प्रदर्शनी पनि सुरु भएको छ । गोरखा वुमन दृश्य कला प्रदर्शनीसमेत भएको छ ।

फेस्टिबलको दोस्रो दिन शुक्रबार १२ सेसन चल्नेछ । ‘अर्थतन्त्र: तंग्रिन्छ की लड्छ’ देखि ‘विद्यार्थीका कविताका कुरा’ मा अन्तरसंवाद हुनेछ ।

फेस्टिबलको अलिमियाँ र भूपी कक्षमा सेसनहरु हुनेछन् ।

फेस्टिभलमा ५८ बढी सेसन हुनेछ । उनका अनुसार ३ सय बढी अतिथि सेसनमा सहभागी हुनेछन् । फागुन ७ गतेसम्म फेस्टिबल जारी रहनेछ ।

प्रकाशित मिति २०८० फागुन ३ गते बिहीबार ०८:००

हजुरको प्रतिक्रिया