हरिकृष्ण गौतम ।
म्याग्दी ।
म्याग्दी जिल्ला सदरमुकाम बेनीबाट एक यूवालाई प्रहरीले लागूऔषध चरेससहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ४ किलो ४६ ग्राम चरेससहित ती युवालाई पक्राउ गरेको हो ।
बेनी नगरपालिका वडा नं ८ कालिपुलमा शुक्रबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका मालिका गाउँपालिका–२ रुमका ३४ बर्षिय तिलक विकको झोलाबाट चरेश फेला परेको प्रहरी निरिक्षक एंव सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए ।
प्रहरीका अनुसार चेकजाँचको क्रममा संकास्पद रुपमा हिँडिरहेका विकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
अभियुक्त विकलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दा दायर गरी अनुसन्धान गरिने जनाइएको छ ।
पश्चिम म्याग्दीबाट लुकिछिपी लागूऔषध ओसारपोसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको थियो ।
म्याग्दीमा पछिल्लो समय कुलतमा फस्ने यूवापुस्ताको संख्या ह्वात्तै बढेको छ ।
जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेस बनाउने गरेको प्रहरीको अनुमान छ ।
पश्चिम म्याग्दीबाट छिमेकी जिल्ला बागलुङ जोड्ने नाकाबाट समेत चरेस बाहिरिने गरेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति २०८० फागुन ५ गते शनिबार ०७:५०




