२०८३ साउन २१ गते बिहीबार

केन्द्रस्तरीय राष्ट्रपति कप वैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी सुरु

केन्द्रस्तरीय राष्ट्रपति कप वैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ६ गते आइतबार १०:२८

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भएको छ ।

पोखरा ।

केन्द्रीय राष्ट्रपति कप वैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको छ ।

केन्द्रीय राष्ट्रपति कप रनिङ शिल्ड फागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो ।

यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भएपछि वैशाखमा धकेलिएको हो ।

यता केन्द्रीयस्तरको प्रतियोगिता सर्ने निश्चित भएपछि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भएको छ ।

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको फागुन ११ गते गण्डकी प्रदेशका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने सदस्य सचिव शर्माले जानकारी दिए ।

प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्न शर्माको अध्यक्षतामा राष्ट्रपति रनिङ शिल्डमा हुने ६ विभिन्न खेलका अध्यक्ष तथा पदाधिकरीहरुसंग शनिबार छलफल गरिएको छ ।

सदस्य सचिव शर्माका अनुसार नवलपुर जिल्लाका ६ पालिकाहरुले प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सम्पन्न गर्न ३० लाख सहयोग गर्ने भएसंगै प्रतियोगितालाई नवलपुरमा आयोजना गर्न लागिएको हो ।

उनले भने, “यो महत्वपूर्ण निर्णय थियो । प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएको बेला नवलपुरका पालिकाहरु अग्रसर भएका छन् । अर्को वर्ष जुन जिल्लाले आयोजना गर्ने हो त्यहाँबाट प्रतिवद्धता आयो भने हामी यो प्रतियोगिता त्यहीँ सञ्चालन गर्छौं र सोही अनुसार झण्डासमेत हस्तान्तरण गर्छौं ।”

फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र÷छात्रा भलिबल र कबड्डी देवचुली नगरपालिकामा हुने तय गरिएको छ भने कराँते मध्यबिन्दु नगरपालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ ।

उद्घाटन लगायत अन्य कार्यक्रमहरु समेत कावासोतीमा हुने सदस्य सचिव शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम ब्यवस्थापक गरी १ हजार ४ सयको हाराहारीमा नवलपुर पुग्नेछन् ।

सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डक लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् ।

सदस्य सचिब शर्माले छनौट प्रक्रियालाई पारदर्शी र जिम्मेवार पूर्वक गर्नसमेत निर्देशन दिए ।

उनले भने, “खेलाडी छनौट गर्दा कुनै समस्या नआओस् भन्नका लागि म सबै खेलका प्रतिनिधीहरुलाई सजग गराउन चाहान्छु । खेलाडीको हितका लागि छनौट पारदर्शी हुनुपर्छ ।”

प्रकाशित मिति २०८० फागुन ६ गते आइतबार १०:२८
हजुरको प्रतिक्रिया