सहकारीको रकम ताण्डव न्युज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको आरोप
पोखरा
पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
पोखराको ताण्डव न्युज डटकमका प्रधान सम्पादकसमेत गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
पूर्व लेखा समिति सदस्यसमेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्युज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको आरोप थियो ।
गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए । मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
मंगलबारमात्र पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएपछि ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यसको लगत्तै सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो ।
मित्रमिलन सहकारी प्रकरणमा गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
यसअघि सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।
प्रकाशित मिति २०८० फागुन १० गते बिहीबार ०६:५८




