२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

महेन्द्रपुलमा ५ मिटर कायम राखेर अन्त घट्यो सेतीको मापदण्ड

महेन्द्रपुलमा ५ मिटर कायम राखेर अन्त घट्यो सेतीको मापदण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १७ गते बिहीबार ०८:०९

सेती नदीको पुरनचौरदेखि कोत्रेसम्म ३० मिटरको एउटै मापदण्ड

अब बन्ने भवनलाई भने महेन्द्रपुल क्षेत्रमै पनि ३० मिटर मापदण्ड

पोखरा

पोखरा महानगरपालिकाले बनाएको नयाँ भवन तथा पूर्वाधार मापदण्डले सेती नदीको मापदण्ड २० मिटर घटाएको छ । सेती नदीको मापदण्ड ३० मिटरमा घटाइएको हो ।

भूकम्पपछि जारी बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ ले सेतीको मापदण्ड ५० मिटर कायम गरेको थियो ।

पोखरा महानगरपालिकाले हालै सार्वजनिक गरेको नयाँ मापदण्डमा २० मिटर घटाइएको छ ।

सेती नदीको सवालमा पुरनचौरदेखि कोत्रेसम्म एउटै मापदण्ड तोकेको पोखरा महानगरपालिकाका घर नक्सा शाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेलले बताए । उनका अनुुसार पूरानो मापदण्डमा ५ देखि ५० मिटर तोकिएको थियो ।

पोखराको महेन्द्रपुल क्षेत्रको हकमा भने अहिले पनि ५ मिटर तोकिएको छ । ५ मिटर पुराना संरचनाको हकमा मात्रै लागु हुने पौडेलले जानकारी दिए । अब नयाँ बन्नेलाई ३० मिटर नै मापदण्ड लाग्ने उनको भनाइ छ ।

सेतीसँगै मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको पनि ३० मिटर तोकिएको छ । सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर नयाँ मापदण्डले तोकेको छ । बगादी, तालखोला र बेगनासताल खोलाको ७ मिटर लागु हुनेछ ।

फेवातालको सम्बन्धमा भने सर्वोच्च अदालतकोे आदेश अनुसार ६५ मिटर नै कायम हुनेछ । असार ४ गते सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न आदेश दिएको थियो ।

यस्तै, फिर्केखोलाको पनि मापदण्ड घटाइएको छ । फिर्केको मापदण्ड ६ मिटर तोकिएकोे हो ।बेगनास र रुपातालको हकमा भने चारैतिर सिमानामा एक सय मिटर जग्गाको सतहको बनोट नाप्ने उल्लेख छ । नयाँ मापदण्डले दिपाङ, मैदी, गुदे, खाष्टे, न्युरेनीको ५० मिटर कायम हुनेछ ।

यस्तै, ठुलिपोखरी, कास्कीकोट, कमलपोखरी, बुडुवाफाँट, खुडेपोखरी पस्र्याङ लगायत पोखरीहरुको ६ मिटर मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति २०८० फागुन १७ गते बिहीबार ०८:०९
हजुरको प्रतिक्रिया