तनहुँ
जनयुद्धका सहिद तथा बेपत्ता नागरिकहरूको जीवनीमा आधारित स्मृतिग्रन्थ ‘अमरगाथा’ को विमोचन गरिएको छ ।
जनयुद्ध अध्ययन प्रतिष्ठानका अध्यक्ष आशा कोइरालाद्वारा लिखित उक्त पुस्तकको शनिबार दमौलीमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले विमोचन गरेका हुन् ।
पुस्तकमा १० वर्षे जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट मारिएका ६५ जना सहिद तथा बेपत्ता पारिएका १५ जना नागरिकको जीवनी समेटिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर जनयुद्धमा भएको बलिदानको स्मरणमा स्मृतिग्रन्थ तयार पारेको लेखक कोइरालाले बताइन् ।
एकै परिवारका ५ जना सदस्य सम्मको सहादत भएको तनहुँको जनयुद्धकालीन इतिहास अध्ययन गर्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरिन् ।
स्मृतिग्रन्थ विमोचन कार्यक्रममा महासचिव गुरूङले माओवादी जनयुद्धले हासिल गरेका उपलब्धिहरूलाई उल्ट्याउने प्रयत्नहरू भइरहेकाले यसतर्फ क्रान्तिकारीहरू सचेत र संघर्षशील हुनुपर्ने विचार व्यक्त गरे ।
पुस्तकको परिचर्चा गर्दै प्रगतिवादी साहित्यकार दिलीपकुमार श्रेष्ठले श्रमजीवी सर्वहारा वर्गप्रतिको सच्चा प्रेम, दुश्मनप्रतिको तीव्र घृणा र महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रतिको उच्च सम्मानभाव नै पुस्तकको मूल विशेषता भएको बताए ।
गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले स्मृतिग्रन्थ आम श्रमजीवी वर्गको बलिदानको कथा बोल्ने प्रतिनिधि पुस्तक भएको धारणा राखे ।
कार्यक्रममा सहिद परिवार रामबहादुर थापाले सहिदका सपना के थियो र अहिलेको अवस्था के छ ? भन्ने तर्फ माओवादी पार्टी र नेतृत्वले जवाफ दिनुपर्ने बताए ।
बेपत्ता नागरिक कल्पना पन्तका भाइ रोहितकुमार पन्तले २५ वर्षसम्म पनि बेपत्ता नागरिकको अवस्था सार्वजनिक नगर्ने राज्यबाट परिवारले के आशा गर्ने भन्ने प्रश्न गरे ।
सहिद सप्ताहको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा सहिद तथा बेपत्ता नागरिकका परिवारलाई अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।
प्रकाशित मिति २०८० फागुन २० गते आइतबार १०:४८




