पोखरा
पोखरामा पुरुष, महिला र पुरुष भेट्रान्स बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ ।
फागुन २२ देखि २६ गतेसम्म रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको तयारी पूरा भएको आयोजक पुन एकता क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । नकआउटका आधारमा खेल खेलाइनेछ ।
बास्केटबल खेलको विकास गर्दै खेलाडीलाई हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरेको संयोजक रनसिंह गर्वुजाले बताए ।
पुरुषतर्फको विजेताले १ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ । यो विधामा १५ समूह सहभागी हुने आयोजकको अनुमान छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका २ जना खेलाडी मात्रै समूहमा सहभागी गराउन पाउने गर्वुजाले जानकारी दिए ।
प्रौढतर्फको विजेताले ३५ हजार रुपैयाँ र उपविजेताले १७ हजार ५०० रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
पुरुष र प्रौढ विधाको खेल फाइभ बाइ फाइभ र महिलातर्फको खेल थ्री बाइ थ्री हुनेछ ।
पुन एकता क्लबले विगतका वर्षहरुमा भलिबल प्रतियोगिता आयोजना गर्दैै आइरहेको थियो । मैदानको अभावले र बास्केटबलका प्रतियोगिता कम हुने भएपछि यसपालिक बास्केटबल आयोजना गरेको जनाइएको छ ।
प्रकाशित मिति २०८० फागुन २१ गते सोमबार ०८:३८




