पोखरा
सुन्दर ढोका साथी सेवाको आयोजनामा आइतबारदेखि पोखरा रंगशाला र रामघाटस्थित पुन समाज घरको हलमा विकासशिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता भइरहेको छ ।
आइतबार प्रतियोेगिता सुरु भएको केही समयपछि नै वर्षा हुँदा केहीबेर खेल रोकिन पुगेको थियो ।
जसका कारण निर्धारित समयभन्दा ढिला हुँदा राति अबेरसम्म बत्ती बालेर खेलाडीहरु खेल खेल्न बाध्य भए । सोमबार बिहानैदेखिको चर्को घाममा पनि महिला बास्केट बल टोली असिनपसिन हुँदै खेलिरहेका छन् ।
रंगशालामा तथा समाज घरको हलमा शारीरिक अपागता भएका महिला तथा पुरुष खेलाडी बास्केट बल खेलिरहँदा भित्र बहुउद्धेश्यीय कभर्ड हल भने पोखराकै ‘दुरान रेस्टुरेन्ट’को कब्जामा थियो ।
आयोजक तथा खेलाडीले सास्ती व्यहोर्दै घाम पानी झेलेर बाहिर खुला मैदानमा खेल खेलिरहेका थिए । भित्र कभर्डहलमा रेस्टुरेन्टले करिब ४ सय जनाका लागि भोेज खुवाइरहेको थियो ।
रंगशालाको कभर्डहलमा त्यसरी भोज खुवाउन सक्ने ल्याकत राख्ने दुरान रेस्टुरेन्टका सञ्चालक दीपक गोदार हुन् । उनी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्षसमेत हुन् ।
‘अरु सामान्य मान्छेले त्यहाँ गएर शौचायलसमेत प्रयोग गर्न पाउँदैन । पहुँचमा भएको व्यक्तिले कभर्ड हल नै कब्जा गरेर भोज गराउनु कहाँसम्मको उचित हो’, रंगशालामा भेटिएका एकजना कड्किँदै थिए, ‘अपांगता भएका खेलाडीलाई बाहिर खेलाएर यहाँ भोज गराउनु त हद भयो ।’
आफ्नोे पदीय पहुँच दुरुपयोग गर्दै कभर्ड हलमै क्याटरिङ चलाएपछि समितिकै मान्छे पनि रुष्ट छन् । ‘समितिमा भएको मान्छे व्यापार गर्नै नपाउने भन्ने त होइन । खाना नै खुवाउने भए पनि यत्रो रंगशालामा जता पनि ठाउँ थियो, कभर्डहल नै रोज्नुचाहिँ राम्रो भएन’, अर्का एकजनाले भने ।
देशभरिबाट शारीरिक रुपमा अपांगता भएका खेलाडीलाई पोखरा उतारेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको आयोजक सुन्दर ढोका साथीले पनि प्रतियोगिताका लागि कभर्डहल नमागेको होइन ।
‘हामीले ३ महिना अगाडि नै प्रदेश खेलकुददेखि राष्ट्रिय खेलकुद परिषद्सम्म पुगेर कभर्डहल मागेका हौं । उनीहरुको मनोबल बढ्छ, राम्रै हुन्छ सहयोग गरिदिनुस् भन्दा कसैले सुनेन’, सुन्दर ढोका साथीकी कार्यकारी निर्देशक विजता लुइँटेलले भनिन्, ‘कभर्डहल नहुँदा हिजो हामीले पाउनु दुख पायौं ।’
कभर्डहलमा बास्केट बल खेलाउन अनमति दिए बाँकी संरचना आफूहरुले नै बनाइदिने भन्दा पनि नमानेको लुइँटेलको आरोेप छ ।
‘सुरुमा इन्कम्पलिट छ भनेर भनियो । बरु २, ३ लाख हामी नै खर्च गरेर कोर्ट बनाउँछौं भन्दा पनि सरकारी काममा ओभरटेक गर्न मिल्दैन भनियो’, उनले भनिन् ।
जिखेपसँग अनुमति न शुल्क !
पहिले प्रदेश खेलकुद परिषद्को मातहतमा रहेको पोखरा रंगशाला माघ ९ गतेमात्रै जिल्ला खेलकुद विकास समितिको मातहतमा आएकोे हो ।
बहुउद्देश्यीय कभर्डहलमा खेलकुद गतिविधि गर्न निश्चित शुल्क समेत तोकिएको छ ।
बहुउद्देश्यीय कभर्डहल प्रयोग गर्न समितिले अन्तर्राष्ट्रियस्तरको खेलका लागि २५ हजार, राष्ट्रियस्तरको १५ हजार, प्रादेशिकस्तरको १० हजार र स्थानीयस्तरको ५ हजार रुपैयाँ प्रतिदिनको शुल्क तोकेको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाका अनुसार गोेदारले कभर्डहल प्रयोग गर्न कुनै शुल्क तिरेका छैनन् ।
‘हामीसँग यो विषयमा कुनै कुराकानी भएको छैन । अनुमति पनि लिनु भएको छैन’, उनले भने ।
लामाले राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङको आदेशमा आफूले कभर्डहलको चाबी दिएको तर प्रयोजनबारे थाहा नभएको स्पष्टिकरण दिए ।
गोदार भन्छन्ः अनुमति राजेश गुरुङसम्म लिएको हो
पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षसमेत दुरान रेस्टुरेन्टका सञ्चालक दीपक गोदारले आफूले राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङसँग अनुमति लिएको बताए ।
‘राखेप बोर्ड सदस्य राजेश गुरुङसम्म सोधेको हो । उहाँले हुन्छ, सफा गरेर जाऊ भन्नु भयो’, गोदारले भने, ‘त्यही पनि खानामात्रै खुवाएको हो । अरु प्रोग्राम गरेको होइन ।’ उनले हल प्रयोग गरेवापत शुल्क नतिरेको स्वीकारे ।
प्रकाशित मिति २०८० फागुन २१ गते सोमबार ०२:३३




