पोखरा ।
आउँदो जुनमा हुने टी–२० विश्वकपको तयारीअन्तर्गत त्रिदेशीय टी–२० शृंखला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान गरेको छ ।
नेपाली टोली गएराति ११ बजे हङकङ गएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
खेलाडीलाई बिदाइ गर्न क्यान र राखेपका प्रतिनिधि विमानस्थल पुगेका थिए ।
मार्च ९ अर्थात् भोलीदेखि पपुवा न्युगिनी र नेपाल सम्मिलित टी–२० आई त्रिदेशीय श्रृंखला हङकङमा सुरु हुँदैछ ।
नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० आई खेल खेल्नेछ ।
त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।
शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखला युवा टोलीका लागि अवसर हुने बताए ।
ट्वान्टी–२० विश्वकप अगाडि हङकङ श्रृंखला निकै उपयोगी हुने कप्तान रोहितको विश्वास छ ।
उक्त श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई नियमित खेलाडीलाई आराम दिँदै नयाँ खेलाडी अवसर दिएका छन् ।
यो श्रृंखलामा आसिफ शेख, कुशल मल्ल, अनिल साह, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी जस्ता अनुभवी र नियमित सदस्यलाई आराम दिइएको छ ।
नेपाली टोलीका प्रशिक्षक देसाईले नेदरल्याण्ड्स र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा भएका हारबाट हतास हुन नपर्ने उल्लेख गरे ।
प्रकाशित मिति २०८० फागुन २५ गते शुक्रबार १०:१०




