ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे
काठमाडौं । अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बाेलाएका छन् । ओलीले बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हल्लीखल्ली मच्चिएको छ ।
सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो । तर पार्टीभित्र चर्को विरोध हुनुका साथै संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु शीतल निवास पुगेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।
बुधबार नेकपा शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने सहमत भए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।
अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहीबार ५ बजे परिषदको बैठक राखिएको भन्दै प्रधानमन्त्रीको सचिवालयबाट सदस्यहरुलाई फोन गरिएको छ । औपचारिक पत्र भने गएको छैन ।
यसले नेकपामा हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री सहमति विपरित अगाडि बढ्न खोजेको त होइन भन्ने नेताहरुको आशंका छ । प्रधानमन्त्री निकट नेताहरुले भने यसअघिकै बैठकको निरन्तरता स्वरुप अनौपचारिक छलफलका लागि बैठक बोलाएको तर्क गरेका छन् ।
जारी घटनाक्रमका विच नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
बिहीबार संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी अरु सदस्यहरुलाई बोलाएका छन् ।
प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०४:२२



