पोखरा ।
फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक बहराइनसँग खेल्न लागेको हो ।
समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानिय समय अनुसार राती १० बजे (नेपाली समय मध्यरातको १२ः४५) बजे बहराइनको राष्ट्रिय रंगशालमा सुरु हुनेछ ।
यसअघि नेपालले बहराइनसँगको ’होम’ खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा खेल्ने तय थियो ।
तर एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले ’होम एण्ड अवे’ दुवै खेल बहराइनमा खेल्ने भएको हो ।
सहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ ।
छनौट अन्तर्गत समूह ‘एच’मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो ।
नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अंक रहेको छ ।
यसअघि नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको थियो ।
नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलका लागि मलेसियाबाट बहराइन गएको हो ।
प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार १०:२१




