पोखरा ।
पोखराको बेगनास तालमा आयोजित ‘ड्रागन बोट रेस’ प्रतियोगितामा पुरूष तर्फको पाँच सय मिटर रेसको उपाधी ’वाटर स्पोर्ट्स नेपाल’ले जितेको छ ।

प्रतियोगितामा ’नारा पोखरा’ दोस्रो र नेपाली सेनाको टिम तेस्रो भएको छ ।
महिलातर्फको पाँच सय मिटर रेसको उपाधी बेगनास ताल डुंगा व्यवसायी समितिले आफ्नो पोल्टामा पार्दा बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलारी दिदीबहिनी समूह फेवा तेस्रो भएका छन् ।

पाँच सय मिटरका विजेताले नगद दुई–दुई लाख पुरस्कार हात पारे। त्यसैगरी दुई सय मिटर रेसको पुरूष तर्फ नारा पोखरा प्रथम, वाटर स्पोर्ट्स नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भयो ।
महिलातर्फको दुई सय मिटर प्रतियोगितामा बेगनास ताल डुंगा व्यवसायी समिति प्रथम, बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलारी दिदीबहिनी समूह फेवा तेस्रो भए ।
दुई सय मिटर तर्फका विजेताले एक–एक लाख पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ३ महिला र ११ पुरूष गरी १४ समूहको सहभागिता थियो ।

२ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन भएको थियो ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन संघ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको सह आयोजनामा प्रतियोगिता भएको थियो ।
पोखरामा पहिलो पटक गत असार ८ गते काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूतावासको आयोजनामा फेवातालमा ड्रागन बोट रेस भएको थियो ।
उक्त प्रतियोगिता दूतावासले चिनियाँ खेलाडीसमेत पोखरा ल्याएको थियो ।
चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको ५ गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुने गर्छ ।
प्रकाशित मिति २०८० चैत १३ गते मंगलबार ०९:२७




