पोखरा
अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता जोगाउन होे भने अबको ४ दिनभित्र जसै विश्वासको मत लिनुपर्ने हुन्छ । किनकी उनी फागुन २३ गतेदेखि अल्पमतमा छन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा दिन्छन् या विश्वासको मत लिन्छन् ? राजनीतिकवृत्तमा बडो चर्चाको विषय बनेको छ । अबको रणनीति के हुन्छ ? मुख्यमन्त्री पाण्डे चुँइक्क बोलेका छैनन् । तर, उनी राजीनामा दिएर ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने मुडमा रहेको निकट स्रोत बताउँछ ।
विश्वासको मत नलिइकन राजीनामा दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नेछन् । प्रदेश प्रमुखले अहिलेसम्म भएका अभ्यास अनुसार बढीमा ७ दिनको म्याद दिएर मुख्यमन्त्रीमा दाबी पेशको आह्वान गर्ने आँकलन छ ।
राप्रपा अनिर्णित भएकाले तत्काललाई मुख्यमन्त्री पाण्डेले विश्वासको मत पु¥याउन सक्ने अवस्था छैन । राप्रापले चैत २७ गते काठमाडौंमा आमसभा गर्दैछ । त्यसअगाडि सरकारमा जाने नजानेबारे कुनै निर्णय नहुने बताइरहेको छ ।
त्यसैले राप्रपाको काठमाडौंमा हुने आमसभा अगावै ७ दिने पुग्ने गरेर मुख्यमन्त्रीले आजभोलिमै राजीनामा दिन सक्नेछन् ।
राप्रपाको समर्थनबिना एमाले माओवादी गठबन्धले पनि संविधानको धारा १६८ (२) अनुसार बहुमत जुटाउन सक्ने अवस्था छैन । त्यसो हुँदा १६८ को उपधारा २ अनुसार सरकार बन्न सकेन भने प्रदेश प्रमुखले धारा ३ अनुसार सरकार आह्वान गर्नेछन् ।
उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने दाउमा राजीनामा दिने योजना बुनिरहेका छन् ।
१६८ (४) अनुसार विश्वासको मत लिने क्रममा राप्रपा र नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको समर्थन पाउने कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा बताउँछन् । राप्रपा र फडिन्द्रसँग निरन्तर वार्ता भइरहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेसकै नेतृत्वमा सरकार अड्याउन हाम्रो प्रयास जारी छ’, उनले भने ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पु¥याउन ३१ सांसदको समर्थन आवश्यक हुन्छ । ठूलो दल कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८ (सभामुखसहित), राप्रपाको २ र स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन् ।
सत्ता जोगाउने दाउमा मुख्यमन्त्री पाण्डेले स्वतन्त्र जितेर एकीकृत समाजवादी रोजेका राजिव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनाएका छन् । अब कांग्रेसलाई राप्रपासँगै माओवादीको चिह्नबाट चुनाव जितेका फणीन्द्रको साथ चाहिन्छ । राप्रपाले समर्थन गर्दा देवकोटाले फ्लोर क्रस गर्ने कांग्रेससँग आशा जीवित छ ।
कस्लाई समर्थन गर्ने विषयमा पार्टीको केन्द्रीय समितिको निर्णय मान्ने देवकोटा बताउँछन् । ‘पार्टीले विषयबस्तु या घटनाक्रमको अध्ययन गरेर जाने भनिराछ । अन्तिममा केन्द्रीय सचिवालयले प्रदेशको रायमा कतिबेला निर्णय लिनुपर्छ त्यतिबेला गर्ने भन्नेछ’, उनले भने । एमाले माओवादी गठबन्धन र कांग्रेस दुवैले आफूसँग बारबार छलफल गरिरहेकोे सांसद देवकोटाको भनाइ छ । चाहिएको बेलामा दूवैतिर आफूलाई निकै महत्व दिएको उनले सुनाए ।
उसो त देवकोटालाई माओवादीको ह्विप लाग्ने भएकाले फ्लोर क्रसको सम्भावना कम रहेको चर्चा पनि नचलेकोे होइन । देवकोटाले राजनीतिक जीवनलाई अगाडि बढाउनका लागि पनि गठबन्धनलाई सघाउने माओवादीको विश्वास छ । ‘पार्टीको निर्णयले उहाँ नैतिक दबाबमा पर्नुभएको छ । त्यस्तै परिस्थिति सिर्जना भएमा सहयोग हुन्छ भन्ने वचन दिनुभएको छ’, माओवादीका एक सांसदले भने ।
राप्रपाले सघाउन सकरात्मक देखिएको कांग्रेस दाबी गरिरहँदा एमालेलाई पनि ग्रिन सिंग्नल दिएको पाइन्छ । राप्रपासँग संवाद भइरहेको छ गठबन्धनप्रति सकरात्मक देखिएको नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले बताए । राप्रपाले मध्यावधिमा जान नदिने भनेकाले पनि ढुक्कै रहेको उनको भनाइ छ ।
‘उहाँहरु पनि मध्यावधिमा जान हुन्न भन्ने कुरामा क्लियर हुनुहुन्छ । त्यसकारण राप्रपाप्रति हाम्रो पूर्ण विश्वास छ समर्थन हुन्छ भन्नेमा’, उनले भने, ‘उहाँहरु मध्यावधिमा कुनै हालतमा जान हुन्न भन्नेमा हुनुहुन्छ । कांग्रेससँग २७ सिट छ । त्यो भएर बहुमत पुग्ने कुरा सम्भवै छैन । परिस्थिति नयाँ माग गरेको कारण राप्रपाले हामीलाई सहयोग गर्नुहुन्छ भन्नेमा हामी ढुक्कै छौं ।’
उसो त सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादी परित्याग गर्दै स्वतन्त्रको हैसियत मागेको भोलिपल्टै मन्त्री बनको दीपक मनाङेसँग पनि संवाद भइरहेको नेपालीले सुनाए ।
राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम तमु भने राप्रपाको मागलाई जुन दलले सम्बोधन गर्छ उसैसँग सहकार्य हुने बताउँछन् । ‘हाम्रो एजेन्डालाई पूरा गरेर जस्ले सहकार्यको लागि ढोका खुल्ला गर्छ उसैसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं’, उनले भने । जनताको म्यान्डेड सबै दललाई मिलेर जाउँ भन्ने भएकाले मध्यावधिमा जान नहुने उनको तर्क छ ।
केन्द्रमा सत्ता समिकरण बदलिएसँगै फागुन २२ मा मुख्यमन्त्री पाण्डेले माओवादीका २ मन्त्रीलाई बर्खास्त गर्दै आफ्नै सरकारको आयु घटाएका थिए । सत्ताबाट बाहिरिन माथिको निर्णय कुरेको माओवादीले मुख्यमन्त्रीले हटाएको भोलिपल्टैै समर्थन फिर्ता लिएको थियो ।
प्रकाशित मिति २०८० चैत १९ गते सोमबार १२:१२




