'जे–जे गर्दा मिलेर जान सक्ने वातावरण बन्छ त्यो गर्न तयार'
पाेखरा
गण्डकीमा सरकार बनाउन साथ खोज्दै ओलीले भेटे राप्रपा सांसद, मिलेन जान सके जुनसुकै सर्त पनि मान्न तयार ओलीको भनाइ
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई भेटेर साथ मागेका छन् ।
एमाले कास्कीमा निर्वाचित कमिटीको सपथ कार्यक्रममा जानुअघि ओलीले पोखराको माउण्ट कैलाश रिर्सोटमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग वार्ता गरेका हुन् ।
राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ ।
ओलीले यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीसमेत रहेका तमुलाई भेटेर गठबन्धनलाई सहयोग गर्न र मिलेन जान आग्रह गरेका हुन् ।
ओलीले भेटेर यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको पञ्चरामले जानकारी दिए ।
ओलीले शुक्रबार बिहान पञ्चरामलाई भेटेर यसअघि पनि सहकार्य गरेको र अब पनि सहकार्य जान आग्रहमात्रै गरेनन्, बरु जे–जे गर्दा मिलेर जान सक्ने वातावरण बन्छ त्यो गर्न तयार रहेको बताएका छन् ।
एमाले गण्डकीका नेताहरुले यसअघि राप्रपालाई बरु मुख्यमन्त्री नै पनि दिन तयार रहेको बताएका थिए ।
ओलीले देशलाई अहिलेको जटिलता निकाल्नुपर्ने बताएका थिए । त्यसका लागि एकभएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।
ओलीले राप्रपालाई साथ दिन आग्रह गर्दै अरु कुरा मिलाउने जिम्मेवारी आफ्नो भएको बताएको पञ्चरामले जानकारी दिए ।
सत्ता गठबन्धनलाई साथ नदिने हो भने कांग्रेसलाई समर्थन नगरी तटस्थ बस्न ओलीले आग्रह गरेको स्रोतको दाबी छ ।
तमुले आफूलेमात्र चाहेर नहुने केन्द्रीय नेतृत्वको निर्णयबाटै चल्ने बताएको जानकारी दिए ।
२७ गतेको आन्दोलनको कार्यक्रमका कारण सत्ताकेन्द्रित गतिविधिमा सहभागी नहुने बताएपछि संसदमा विश्वासको मत पाउने स्थिति नदेखेर मुख्यमन्त्री पाण्डेले २१ राजीनामा दिएका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गर्दै २७ गते ३ बजेसम्मको समय दिएका छन् ।
प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ०२:२४




