आलो–पालो भन्दा चुमानको मुख्यमन्त्रीमा पालै आएन
पाेखरा
गण्डकी प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बनेर खगराज अधिकारी नेतृत्वको सरकारमा गएका छन् ।
एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् ।
मुख्यमन्त्री अधिकारीले आइतबार तिन सदस्यीय मन्त्रिमण्डल गठन गर्दा चुमानलाई पनि बिनाविभागीय मन्त्री बनाएका हुन् ।
चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए ।
यसअघि पनि पटक पटक मुख्यमन्त्रीको दाबी गरेर नपाएका माओवादी संसदीय दलका नेता चुमान गण्डकीमा दोस्रो कार्यकालसम्म आइपुग्दा तेस्रो पटक मन्त्री भएका छन् ।
मन्त्री बनेपनि आलोपालोको सहमतिअनुसार मुख्यमन्त्रीमा माओवादीको दाबी कायमै रहेको उनी बताउँछन् ।
गत पुस २६ गते एमाले–माओवादीकै सरकारमा खगराज मुख्यमन्त्री हुँदा चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यो बेला पनि चुमानले मुख्यमन्त्रीको दाबी गरेका थिए ।
अहिले फेरि खगराज नेतृत्वकै सरकारमा चुमान मन्त्री बनेका चुमान पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
खगराज नेतृत्वको सरकार ढलेर माओवादीसहितको कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुँदा पनि चुमानले मुख्यमन्त्री दाबी गरेका थिए । तर, आलोपालो गर्ने सहमतिपछि माओवादीका रेशमबहादुर जुग्जाली र सुशीला सिम्खडा मन्त्री बनेका थिए ।
मुख्यमन्त्रीमा दाबी गरेका चुमान यसपटक आफू मन्त्री नबनेर अरुलाई पठाउन सक्ने चर्चा चलेको थियो । तर, चुमानकै नेतृत्वमा माओवादी सरकारमा सहभागी भएको हो ।
प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०८:२६




