पोखरा
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ उद्घोषकका साथ महोत्सव सुरु भएको हो ।
महोत्सवको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको उनकोे भनाइ थियो ।
महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ ।
दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै, आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ ।
महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार रोकिएको खेल भोलि हुनेछ । विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बास्केटमा १२ टोलीको सहभागिता रहेको छ ।
बुधबारदेखि भलिबलका खेल सुरु हुनेछ ।
यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ ५५, उपविजेताले २७ हजार ७७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।
महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर आउने पर्यटकलार्य ३० प्रतिशत छुट दिएको छ ।
प्रकाशित मिति २०८० चैत २७ गते मंगलबार ०६:२६




