पोखरा ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ ।
खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । हिजोदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो । कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो ।
साबिक विजेता नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदा कतार पहिलो जितको खोजीमा हुनेछ ।
त्यस्तै प्रतियोगितामा हिजो भएका खेलमा घरेलु टोली ओमानसहित यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
उपाधि जित्ने टिम सन् २०२५ को एसिया कपका लागि छनोट हुनेछ ।
नेपालले वैशाख ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
प्रकाशित मिति २०८१ वैशाख १ गते शनिबार १०:०६




