२०८३ असोज २३ गते शुक्रबार

सम्झनाबाट मुक्ति दिलाउने ‘स्मृति विक्री केन्द्र’

सम्झनाबाट मुक्ति दिलाउने ‘स्मृति विक्री केन्द्र’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २ गते आइतबार ०५:२२

यादका दस्ताबेजमा अल्झिरहेका पात्रलाई जीवन्त बनाउन मधुर स्वरमा पृष्ठभुमिमा गुञ्जिन्छ ‘लैजाऊ न मेरा यी यादहरू...।’

पोखरा

‘काललेभन्दा सम्झनाले लाने रहेछ दिदी !’, छोराको यादले मध्यरातको ऐंठन बरर्बती आँसु खसाल्दा सम्झाइरहेकी सहेलीले भन्छिन् ।

वृद्धाश्रममा तड्पिएकी उनलाई सम्झनाका खातले आँसु मात्रै दिएपछि विक्री गर्न उनै सहेली सुझाउछिन् ।

छोराको सम्झनाले सताइरहेपछि बेच्ने निधो गर्छिन् । र उनी ‘स्मृति विक्री केन्द्र’ पुग्छिन् ।

एउटा युवक प्रेम वियोगमा पागल बन्छ । ‘सम्झना’ को यादले उसलाई एकोहोरो बनाउँछ । यादले यतिसम्म तड्पाउँछ, एकान्तमा पनि उसले सम्झनालाई नै देख्छ । वेश्यालयकी युवतीलाई सम्झना ठान्छ ।

यादका घाउले खपि नसक्नु भएपछि देहत्यागको स्थितीसम्म पुग्छ, सक्दैन । साथीले अर्ति दिन्छ, ‘बेचिदे उसका यादहरु । कति दिनसम्म पागल बनेर बस्छस ?’

उ पनि पुग्छ, ‘स्मृति विक्री केन्द्र’ मा । उसले सम्झनाको सम्झना पैसा लिएर बेचिदिन्छ कहिल्यै नसम्झने गरेर ।

स्मृति विक्री केन्द्रमा मान्छेहरुको भीड हुन्छ । ठाउँको, व्यक्तिको, प्रेम, यौन आदिको स्मृति बेच्नलाई ।

दाइजोका कारण छोरी जलेपछि, बलात्कृत भएकपछि, जनयुद्धले दिएको पीडा बिर्सन चाहनेहरु यादको घाउमा खत बस्न नसकेको स्मृति बेच्छन् । ‘

स्मृति विक्री केन्द्र’ ले मेसिनको सहायताले सबैको स्मृति किन्छ पैसा तिरेर । सताइरहेका यादलाई बेचेर मान्छे धनी बन्छन् । किन्न पुग्छन्, लेखक, समाजशास्त्री र वैज्ञानिकहरु ।

‘स्मृति विक्री केन्द्र’ को सुरक्षार्थ प्रवेशद्वारमा खटिएका गार्ड सबैलाई चेकजाँच गरेर बेच्ने ठाउँसम्म पठाउँछ । उ आफ्ना सम्झनाहरु भने बेच्दैन । एउटा लेखकसँगको संवादमा भन्छ, ‘सम्झना नभए त मान्छे अस्थिरपञ्जर भएर बाँच्छ ।’

बिर्सन चाहानेहरुको यीनै दृश्य र संवादमा केन्द्रित नाटक ‘स्मृति विक्री केन्द्र’ पोखरामा मञ्चन भइरहेको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा बैशाख १ देखि नाटक मञ्चन सुरु भएको हो । वैशाख १५ गतेसम्म हरेक दिन साँझ ५ बजे नियमित मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो सञ्चालन गरिनेछ ।

साहित्यकार बुद्धिसागरले १२ वर्ष अगाडि लेखेको कथा ‘स्मृति बिक्री केन्द्र’ लाई रेनेसान्स थिएटर नेपालले प्रस्तुत गरेको हो ।

प्रविधिलाई साहरा बनाएर बाँचिरहेका मान्छेलाई याद बेगर बाँच्न सिकाउने कल्पना गरिएको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । पूरानो कथा भएपनि अहिलेको समाजसँग ‘कनेक्ट’ हुने भएकाले नाटक तयार पारेको उनी बताउँछन् ।

‘धेरै पहिला पढेको कथा हो । त्यो कथा अहिलेको समाजको घटनासँग कनेक्ट गर्न सकिन्छ लाग्यो’, उनले भने, ‘अहिले यो मेसिन भए हामीले के गथ्र्यौं ? यादहरुलाई कसैले साहरा बनाउन सक्थे । कसैले बेचिदिन्थे ।’

निर्देशक ध्रुब पौडेल पोखरेली रंगमञ्चमा नयाँ प्रयास गरेको बताउँछन् । ‘पोखराको रंगमञ्चमा नौंलो प्रयास गरौं फरक धारको नाटक देखाउ भनेर लागेका छौं’, उनले भने ।

यादका दस्ताबेजमा अल्झिरहेका पात्रलाई जीवन्त बनाउन मधुर स्वरमा पृष्ठभुमिमा गुञ्जिन्छ ‘लैजाऊ न मेरा यी यादहरू…।’ कलाकारको प्रत्यक्ष गायन र वाद्यवादनले पोखरेली नाट्यप्रेमी कलाकारलाई नयाँ स्वाद पस्किएको छ । धुनहरुले दर्शकलाई बाँध्न सघाउँछ ।

नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, लक्ष्मण डुम्रे, उमा पुन, शीतला अधिकारी, प्रियंका खड्का, विभु भुषाल, जनक पराजुली, कविता घर्ती मगर, विष्णु तिमिल्सिना, सन्देश भण्डारी, सुस्मिता काप्री लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति २०८१ वैशाख २ गते आइतबार ०५:२२
हजुरको प्रतिक्रिया