पोखरा
प्रर्दशनको संघारमा रहेको फिल्म ‘खजुरे ब्रो’ ले सहकारी ठगीको विषयलाई उठाएको बताइएको छ । बैशाख २८ देखि फिल्म देशभर एक साथ ‘सोलो रिलज’ हुँदैछ ।
बिहीबार पोखरामा फिल्मबारे जानकारी दिन आयोजिक पत्रकार सम्मलेनमा फिल्मले सहकारी ठगीको विषयलाई उठाएको अभिनेता मशेह त्रिपाठीले बताए । उनका अनुसार समाजका घटनालाई कमेडी जनरामा प्रस्तुत गरिएको छ ।
प्रचारप्रसारका लागि फिल्म युनिट देश दौडाहामा छ । तर, फिल्मले प्रदर्शनको लागि सेन्सर बोर्डबाट स्वीकृति पाएको छैन ।
धरानका ‘खजुरे ब्रो’ को चरित्र फिल्ममा सापट लिएको निर्माता नविन मानन्धरले बताए । ‘उनकै नाम र चरित्रलाई जोडिएको छ । केही उनका वास्तविक घटना पनि उल्लेख गरिएको छ’, उनले भने ।
हालसम्म फिल्ममा एक करोड ८० लाख रुपैयाँ लगानी गरिएको छ । काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा फिल्मको छायांकन भएको हो । २९ दिनमा फिल्मको छायांकन सकेको निर्माण पक्षले जनाएको छ ।
रियाज राइ र नीति शाह मुख्य भूमिकामा रहेको फिल्ममा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ । फिल्मको निर्देशक सुरज सुनुवार हुन् ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।
नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।
रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेकोले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।
प्रकाशित मिति २०८१ वैशाख २१ गते शुक्रबार ०९:४२




