२०८३ साउन २१ गते बिहीबार

पोखरा १२: आत्मनिर्भर बनाउन महिलालाई एक महिने सीप सिकाउँदै

पोखरा १२: आत्मनिर्भर बनाउन महिलालाई एक महिने सीप सिकाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २६ गते बुधबार ०१:२३

पोखरा महानगरपालिका वडा नम्बर १२ ले महिलाको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ ।

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १२ ले महिलाको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय वाद्यवादन तालिमसम्म सञ्चालन गरेको छ ।

वडाले महिलाको लागि चैत २१ देखि वैशाख २२ सम्म एक महिने वाद्यवादन कार्यक्रम सञ्चालन गरेको थियो । महिलालाई लक्षित गरेर एक महिनासम्म मादल, खैजडी, मुजुरा लगायतका वाद्यवादनका कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । उनकाअनुसार वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुग्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो ।

‘कार्यक्रममा वडाभित्रका महिला दिदिबहिनीले उत्साहजनक सहभागिता जनाएका थिए । कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो,’ उनले भने ।

तालिममा वडाका ३७ महिलाले सहभागिता जनाएका थिए । वडाका १८ वटा आमा समुहका प्रतिनिधिलाई वडाले छुट्याएको एक लाख ५० हजार बजेटबाट मादल, मुजुरा तथा खैजडी बजाउन सिकाउने तालिम दिइएको वडाध्यक्ष बास्तोलाले बताए । यस्ता खालका कार्यक्रमले फुर्सदिला महिलालाई सीप सिकेर आर्थिकस्तर उकास्न सहयोग पुग्ने सहभागी बिष्णु माया पौडेलले बताइन् ।

सीप सिकेका महिलालाई विवाह, ब्रतबन्ध एवम् छिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहयोग पुग्ने कार्यक्रम संयोजक एवम् वडा सदस्य शान्ति कोइरालाले विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति २०८१ वैशाख २६ गते बुधबार ०१:२३
हजुरको प्रतिक्रिया