२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रज्ञा प्रतिष्ठानबाट प्रदेशका ७ जना स्रष्टालाई सम्मानित

गण्डकी प्रज्ञा प्रतिष्ठानबाट प्रदेशका ७ जना स्रष्टालाई सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २९ गते शनिबार ०९:००

पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका ७ जना स्रस्टालाई सम्मान गरेको छ। तेस्रो स्थापना दिवसका अवसरमा प्रतिष्ठानले शनिबार पोखरामा एक समारोह आयोजना गरी स्रस्टा सम्मान गरेको हो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका...

पाेखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका ७ जना स्रस्टालाई सम्मान गरेको छ।

तेस्रो स्थापना दिवसका अवसरमा प्रतिष्ठानले शनिबार पोखरामा एक समारोह आयोजना गरी स्रस्टा सम्मान गरेको हो ।

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका लाेक संस्कृतिकर्मी खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका लेखक भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका लाेकदाेहाेरी गायक पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित भए । उनीहरुलाई जनही एक लाख रुपैया नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लेखक सरस्वती प्रतिक्षा सम्मानित भइन् ।

उनले सम्मानपत्र, दोसल्लासहित नगद ५० हजार रुपैया प्राप्त गरिन् । यस्तै, गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रविन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई नगद २५ हजार रुपैयाँका साथै सम्मानपत्र र दोसल्ला ओढाइएको थियो ।

सम्मानित सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसहित, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान अर्पण गरेका थिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले सम्मानित स्रस्टाहरु छनोट गरेको हो।

छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादव चन्द्र भुर्तेल र प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए ।

प्रतिष्ठानको स्थापना दिवसकै अवसरमा प्रतिष्ठान परिसरमा निर्माण गरिएको स्रस्टा स्मृति पार्क उद्घाटन गरिएको छ ।

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले २०७८ साल बैशाख १५ गते प्रतिष्ठानको स्थापना गरेको थियो । स्थापना दिवसमा आयोजित कार्यक्रममा झाँकी सहितको साँस्कृतिक प्रस्तुती र गायन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति २०८१ वैशाख २९ गते शनिबार ०९:००

हजुरको प्रतिक्रिया