हरिकृष्ण गौतम
म्याग्दी ।
म्याग्दी जिल्ला गण्डकी प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।
बच्चा जन्मिएको १६ महिनादेखि ५ वर्षमूनिका कुल ४ हजार ८ सय ६९ जना बालबालिकाहरुले पूर्ण खोपको मात्रा पुरा गरेपछि म्याग्दीलाई पूर्ण खोप सुनिश्चितताको दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाहरुले लगाउनुपर्ने कुल १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि म्याग्दीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिए ।
जिल्लामा १५ महिना मुनिका १ हजार ५ सय ६७ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाइरहेको र १६ महिनादेखि ५ वर्षमूनिका लक्षित उमेर समूहका सबै बालबालिकाहरुले पूर्ण खोपको मात्रा पूरा गरेका छन् ।
राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको प्रमुख ठकुराठीको भनाई छ ।
बालबालिकाहरुले १५ महिनादेखि ५ वर्षको उमेरसम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
म्याग्दीलाई पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा कार्यक्रमको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले उद्घाटन गर्दै पूर्ण खोप सुनिश्चितता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, स्वागत उपप्रमुख दिलकुमारी खत्री र सञ्चालन अनमी सुमित्रा थजालीले गरेको कार्यक्रममा म्याग्दीका स्थानीय तहका प्रमुख तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।





