२०८३ साउन २१ गते बिहीबार

‘हाम्रा सहकारीका पैसा बाँडेर खायौं, धुरुधुरु रुवायौैं’

‘हाम्रा सहकारीका पैसा बाँडेर खायौं, धुरुधुरु रुवायौैं’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १३ गते आइतबार ०८:०९

सहकारीकोे रकम राज्यसत्तामा रहेका व्यक्तिको नाममा दुरुपयोग भएको आरोेप छ ।

पोखरा

बचत रकम फिर्ता माग्दै पोखराका सहकारी पीडित बचतकर्ताले विरोध प्रर्दशन गरेका छन् । आइतबार दिउँसो सहकारी ठगलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी बचत पीडित संघर्ष समिति कास्कीले आह्वान गरेको विरोध प्रदर्शनमा राजनीतिक दलका नेता कार्यकर्तासमेत सहभागी थिए । पोखराकोे सृजनाचोकदेखि नाराबाजी गर्दै निक्लेको ¥याली पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भयो ।

¥यालीमा सहभागीले ‘सहकारी पीडितलाई न्याय दे’, ‘आन्दोेलनरत बचत पीडितकर्ताको जिउधनको सुरक्षा गर’, ‘पीडितलाई धम्क्याउनेलाई कानुनी कारबाही गर’, ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कस्ले गर्छ हाम्रो बचतको सुरक्षण ?’ ‘कानुनी अपूर्णता र अस्पष्टता अन्त्य गर’, ‘हाम्रा सहकारीका पैसा बाँडेर खायौं, वृद्धदेखि बालकसम्म धुरुधुरु रुवायौैं’ लगायतका नारा लगाएका थिए ।

 

कोणसभामा बोल्दै सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले निरन्तर संघर्षमा रहेपनि न्याय नपाएको गुनासो सुनाए । सहकारीकोे रकम राज्यसत्तामा रहेका व्यक्तिको नाममा दुरुपयोग भएको उनको आरोेप छ ।

‘सुरुमा त सहकारीमा पैसा डुब्यो भन्ने मात्रै हामीलाई थाहा थियो । सहकारीको पैसा क–कसले लगे, खाए, कसरी अपचलन गरियो भन्ने केही थाहा थिएन । जब हामी छानबिनमा बस्यौं हामी निशब्द बनेका छौं’, श्रेष्ठले भने, ‘सहकारीको हाम्रो बचत जुन हिसाबले दुरुपयोग भाको छ राज्यसत्ता र सरकारमा बसेका मान्छेहरुको नामबाट दुरुपयोग भाको छ ।’

वर्तमान सरकारमा रहेकाको नाममा रकम अपचलन भएको संयोजक श्रेष्ठले ठोकुवा गरे । पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनले पनि औल्यांएको उनको भनाइ छ ।

‘सहकारीको समस्या समाधान गर्ने विषयमा सरकारले कुनै पाइला चालेका छैन । यहाँ त केबल सरकार कसरी बचाउने ? कुर्सी कसरी बचाउने ? यस्तै यस्तै खेल चलिरहेको छ’, उनको दुखेसो छ । बचत फिर्ता गराउन ठोष कदम सरकारले चाल्नुपर्ने श्रेष्ठको माग छ ।

सहकारी पीडितको विरोध प्रदर्शनमा कास्कीमा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी (मसाल), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले ऐक्यबद्धता जनाउँदै सहभागी थिए ।

पोखरामा सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, बलिदानी, विन्दवासिनी र प्राइम बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना पारेका छन् । ७ सहकारीविरुद्ध प्रहरीमा उजुरी परेपछि छानबिनको चरणमा छ । झन्डै ४० हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ सहकारीका सञ्चालक हिनामिना गरेका छन् । बचतकर्ताकोे रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका थुप्रै सहकारीका बचतकर्ता कानुनी प्रक्रियामा जानलाई पर्ख र हेरको अवस्था रहेको बताउँछन् ।

प्रकाशित मिति २०८१ जेठ १३ गते आइतबार ०८:०९
हजुरको प्रतिक्रिया