पोखरा ।
आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ ।
नेपाल र क्यानडाबीचको खेल आज राति सवा ९ बजे अमेरिकाको डलासमा सुरु हुने छ ।
क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हुरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो । नेपालले उक्त अभ्यास खेलमा दुवै खेल जितेको थियो ।
हालसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन् ।
जसमा नेपाल विजयी भएको छ । यी दुई टिमले पहिलोपटक २१ फेब्रुअरी २०२२ मा टी–२० आई खेलेका थिए । जसमा नेपाल ८ विकेटले विजयी भएको थियो ।
टी–२० विश्वकप २०२४ मा नेपाल समूह ’डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ ।
बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।
विश्वकपमा ५५ खेल हुनेछन् । सुरूमा २० टोलीलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको छ ।
चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन् ।
सुपर–२ को दुई समूहका शीर्ष २–२ टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रकाशित मिति २०८१ जेठ १४ गते सोमबार ०९:४२




