पाेखरा ।
पाेखरामा विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइएकाे छ ।
नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ वर्ष पूरा भएको दिनको सम्झनामा पाेखरामा विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइएकाे हाे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र टान पोखराको समन्वयमा पाेखरामा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रूपमा विकास भइरहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले नेपाल र गण्डकी प्रदेशकाे पर्यटनका लागि अन्नपूर्ण आरोहण दिवस महत्वपूर्ण दिन भएको बताए ।
कार्यक्रममा आधा दर्जनभन्दा बढी देशका राजदूत, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का प्रमुख एवं प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।

समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालगायतलाई सम्मान गरिएकाे छ । कार्यक्रममा गण्डकी प्रदेशको सांस्कृतिक विविधता झल्काउने मौलिक गीत र नृत्य प्रदर्शन गरिएकाे थियाे ।
समाराेहकाे पूर्वसन्ध्यामा पाेखराकाे बसुन्धरा पार्कदेखि बाजागाजासहितकाे र्याली, झाँकी निकालिएकाे थियाे ।
७४ औँ अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा आइतबार कास्कीको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म नेपालस्थित नौ देशका राजदूतको पदयात्रा गरिएको थियो ।

यसै अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ भने टान गण्डकीले पोखराको ‘भ्यु फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको छ ।
आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
कास्की र म्याग्दीका दुई वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।
प्रकाशित मिति २०८१ जेठ २१ गते सोमबार ०३:०२




