एसिड आक्रमण राेक्न अध्यादेश बनाउन प्रधानमन्त्रीकाे निर्देशन
एसिड आक्रमण गर्नेलाई कारबाही गर्न अध्यादेश जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
बिहिबार १२ जना एसिड आक्रमण पीडितहरूसँग भेटेपछि प्रधानमन्त्री ओलीले अध्यादेश नै बनाएर जारी गर्नका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कानुनमा अपराधीकाे सम्पत्ती राेक्का गरी उपचार गर्ने, क्षतिपूर्ति भराउने तथा भरणपाेषण गर्ने व्यवस्था गरिनेछ ।

साे समाराेहमा एसिड आक्रमणमा परेका पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्रीले आश्वासन दिएका छन् । साथै पढ्न चाहनेहरू पीडितहरूका सरकारले नि:शुल्क पठनपाठनकाे तथा उचित तालीम, राेजगारी, व्यवसाय र जिविकाकाे प्रबन्ध सरकारले मिलाउने समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भयाे । त्यसका अलावा सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्राेत्साहित गरिने समेत प्रधानमन्त्रीले पीडितहरूलाई आश्वस्त पार्नुभएकाे छ ।
नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेकाे बताइएकाे छ। समाराेहमा प्रधानमन्त्रीले हरेक बर्ष सेप्टेम्बर १० लाई ‘एसिड आक्रमण विरूद्दकाे जागरण दिवस’ का रूपमा मनाउन समेत आह्वान गरेका छन् ।





