२०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर पनि गुम्याे
काठमाडौं ।
नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।
दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।
११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।
अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।
दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
२०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर पनि गुम्याे
आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो ।
भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरियतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।आईसीसीको टी-२० आई वरियतामा नेपाल १८ औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।
हालसम्म टी-२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुँदा सोझै पुगेका छन् । त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अव इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्ड मध्य दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।
आईसीसी टी-२० आई वरियतामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, वेष्टइण्डिज तेस्रो, इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, न्युजिल्यान्ड छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान दशौं, आयरल्यान्ड ११ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । सुपर ८ मा पुग्न नसकेपनि न्युजिल्यान्ड र पाकिस्तान वरियताको आधारमा टी-२० विश्वकपमा पुग्ने लगभग पक्का छ ।
अमेरिका हालसम्म २०२६ को टी२० विश्वकपमा सोझै छनोट हुने एक्लो एसोसिएट टोली हो । समूह ए मा ४ खेलमा ५ अंकका साथ सुपर ८ मा स्थान बनाउँदै २०२६ को विश्वकपमा पुगेको हो ।
समूह ए बाट भारत र अमेरिका सुपर-८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया पुगेको छ । इंग्ल्यान्ड र स्कटल्यान्ड त्यसको दौडमा छन् । इंग्ल्यान्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल आज राती इंग्ल्यान्डले नामिबियासँग खेल्छ । उता स्कटल्यान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले भोली अष्ट्रेलियासँग खेल्नेछ ।
स्कटल्यान्ड विजयी भएमा इंग्ल्यान्डलाई पछि पार्दै सुपर ८ खेल्नेछ । अष्ट्रेलिया विजयी हुँदा र अन्तिम खेलमा इंग्ल्यान्डले नामिबियालाई हराउँदा नेटरनरेटका साथ सुपर ८ मा पुग्ने देखिन्छ । यदि सुपर ८ मा पुग्न नसके इंग्ल्यान्ड वरियताको आधारमा विश्वकप खेल्ने पक्का छ ।
समूह डी मा बंगलादेश ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आइतबार बंगलादेशले नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले सोमबार श्रीलंकासँग खेल्नेछ । यदि बंगलादेश सुपर ८ मा पुग्न नसके नेपालसँगै एसिया छनोट खेल्ने सम्भावना बढी रहन्छ ।
प्रकाशित मिति २०८१ असार १ गते शनिबार ११:१०




