२०८३ असोज २३ गते शुक्रबार

पोखरामा धूमधामले मनाइयो भुमेपूजा

पोखरामा धूमधामले मनाइयो भुमेपूजा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १ गते शनिबार ०८:२९

प्राकृतिक विपद्वाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँछन् ।

पोखरा

पोखरामा पनि धूमधामका साथ भुमेपूजा मनाइएको छ । रोजगार र अध्ययनको शिलशिलामा पोखरा झरेर बसोबास गरेका रुकुमेली र रोल्पाली मगरले शनिबार धूमधामका साथ भुमेपुजा मनाएका हुन् ।

पोखराको प्रदर्शनी केन्द्रमा टन्टलापूर चर्को घामको वास्तै नगरी भुमेपुजाको मेलामा सहभागी भए । मगर समुदायको प्रमुख चाड भूमेमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म नाचगान गरेर खूब रमाइलो गरे ।

दमाहा, झ्यालीसहित पञ्चेबाजाको तालमा पसिनाले निर्थुक्कै भिज्दासमेत खुट्टाको तालमा ताल मिलाएर नाँचे ।

पोखरामा भुमेको रौनकसँगैै उत्साह साट्ने चाँजोपाँजो रोल्पा पोखरा सम्पर्क समाज र रुकमेली एकता समाज पोखराले मिलाएका हुन् ।

प्राकृतिक विपद्वाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँछन् ।

रोल्पा पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोकाका अनुसार भुमे प्रकृतिलाई पूजा गर्ने पर्व हो । हिउँद सकिएर बर्खामा बालीनाली लगाएपछि संरक्षणका लागि पुजा हुने उनले बताए ।

‘प्रकृतिमा हामीले लगाएको वालीनालीमा किराफट्यांग्रा नलागोस् । प्राकृतिक प्रकोप भएर बाढीपहिरोबात क्षति नहोस् मानव उत्पत्तिको शिकारी युगदेखि भुमेको पूजा थालेका हौं’, उनले भने । शिकारी युगमा प्रकृतिलाई पूजा गरेर निस्कदा समस्या नआएको उनको सुनाए ।

असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ । जेठ पूर्णिमाको अवसरमा लेक चढेर पूजाका लागि बुकी फूल ल्याउने गरिन्छ । त्यसक्रममा विभिन्न २२ थरि चालमा नाच नाच्ने गरिन्छ ।

गत वर्षदेखि पोखरामा सामूहिक रुपमा भुमेपूजा मनाउन थालिएको हो । कास्कीसँगै तनहुँ, स्याङजा लगायतका जिल्लामा बसोबास गरिरहेका रुकुम रोल्पाका मगर पोखराको प्रदर्शनी केन्द्रमा भेला भएर हर्षोल्लासका साथ मनाए ।

धेरैजसो रुकुमेली र रोल्पाली जनयुद्धको रापताप बढेपछि पोखरा झरेका हुन् । अहिले उनीहरुले पोखरालाई नै कर्मथलो बनाएका छन् । विगतमा फुर्सद हुनेहरु गाउँ नै फर्किएर भुमे पर्व मनाउथे । फुर्सद नहुनेहरुले भूमेको रौनक चटक्कै बिर्सेर बसेका थिए । नयाँ पुस्तामा भुमेपर्वबारे ज्ञान नै थिएन । यसपालि त गाउँबाटै बोलाएर भूमेमा नाचिने थरीथरीका नाँच नयापूस्तालाई सिकाइयो ।

धेरै समयसम्म भुमेलाई चटक्कै बिर्सदा नयाँपूूस्तामा संस्कृति हस्तानतरण गर्नै सकस भएको रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढामगर बताउँछन् । ‘हामीलाई पुस्तानतरणमा एकदमै असर परेको महशुस भएको छ । वास्तबमा हामी यहाँ राजनीतिक उतारचढावले गाउँ समाजबाट विस्थापित भएको कारण आएका थियौं’, उनले भने, ‘कास्कीलाई कर्मथलो बनाइरहँदा हाम्रा बालबच्चा यहीं जन्मिए । हाम्रो भाषा संस्कृतिलाई विर्सदैै गएको महशुुस भएर सामूहिक रुपमा भूमे मनाउने निधो ग¥यौं ।’

प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०८:२९

हजुरको प्रतिक्रिया