पोखरा
गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रतियोगिताको महिलातर्फ बागलुङ तेस्रो भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा बागलुङले म्याग्दीलाई ७–२ गोलअन्तरले हराउन सफल भएको हो ।
बागलुङले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो ।
पहिलो सेमीफाइनल खेलमा बागलुङ स्याङजासँग ८–५ गोलले पराजित भएको थियो । म्याग्दीले कास्कीसँग ९–० को हार व्यहोरेको हो । कास्की र स्याङजाले आइतबार उपाधिका लागि भिड्नेछन् ।
पुरुषतर्फ कास्की, बागलुङ, स्याङजा र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा स्याङजाले नवलपुरमाथि २०–४ को फराकिलो जित हासिल ग¥यो ।
बागलुङले पर्वतलाई १६–५, कास्कीले म्याग्दीलाई १९–१२, तनहुँले गोरखालाई २०–२, स्याङजाले बागलुङलाई ११–८ र पर्वतले नवलपुरलाई १२–९ गोल अन्तरले हराएको हो ।
प्रतियोगिताको उपाधि विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ३० हजार रुपैयाँमा चित्त बुझाउनेछन् । तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित मिति २०८१ असार ८ गते शनिबार ०५:४०




