२०८३ साउन २१ गते बिहीबार

‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा

‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १२ गते बुधबार ०७:२९

पत्रकार तारामणी सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष, सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताए ।

पोखरा

पत्रकार तारामणी सापकोटाले बजारमा ल्याएको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो ।

नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । उनले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको चर्चा गरिन् ।

पत्रकार तारामणी सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष, सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताए । नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका पुस्तकले बोल्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले सरकार र राजनीतिक दलले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन् । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको उनको धारणा थियो ।

सहभागीले संविधान र कानुनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए । संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले सुझाव राखेका थिए ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत र महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेका हुन् ।

प्रकाशित मिति २०८१ असार १२ गते बुधबार ०७:२९
हजुरको प्रतिक्रिया