पोखरा
एनआइसी एसिया बैंकले पोखराबाट मास्टरकार्ड र डेविटकार्डको सेवा सुरुआत गरेको छ । योसँगै अब पस टर्मिनल र एटिएममा मास्टर डेबिट र क्रेडिट कार्ड प्रयोग गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
यो सेवाले कारोबार थप सुरक्षित हुने उनको विश्वास छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न सक्ने उनको भनाइ छ । मौज्दात सोधपुछको सुविधा लिनसमेत सकिने उनले बताए ।
मास्टरकार्ड इन्डियाका प्रतिनिधि पवन शेखले मास्टरकार्ड ग्लोवल टेक्नोलोजीको रुपमा विकास भएको बताए । यसले सेवा सहज र सुरक्षित हुने उनको भनाइ थियो ।
बैंकका डिजिटल बैंकिङ प्रमुख नरेन्द्र मैनालीले पर्यटकलाई लक्षित गरिएकोले पोखराबाट सेवाको सुरुवात गरेको बताए ।
नेपालमा मास्टर कार्ड प्रयोगकर्ताका संख्या बढ्दो क्रममा छन् । खासगरी होटल, रेष्टुरेन्ट, पर्यटनजस्ता सेवामूलक क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताको संख्या धेरै भएकोले बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको उल्लेख गरिएको छ।
एनआइसी एसिया बैंकले देशभर ३१९ शाखा, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको छ ।
प्रकाशित मिति २०८१ असार १६ गते आइतबार ०८:०९




