म्याग्दी ।
म्याग्दीमा नमुना संकलन गरिएका विभिन्न स्थानमा १४ प्रतिशत पिउने पानीमा दिसाको जीवाणु भेटिएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, खानेपानीको ट्ंयाकी र समुदायमा रहेका धाराको खानेपानीमा दिसामा हुने जीवाणु इ.कोलीको मात्रा उच्च रहेको पाइएको हो ।
स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको थियो ।
सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ प्रतिशतमा इ.कोली ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।
बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ.कोली भेटिएको छ ।
मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इ.कोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ ।
जीवाणु भेटिएको बेनी नगरपालिका वडा नं ९ गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने वुद्धवृद्धाले समेत प्रयोग गर्ने गरेका छन् ।
प्रकाशित मिति २०८१ असार २७ गते बिहीबार ०९:२७




